८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

रेविजबाट एक महिनामै चार जनाको मृत्यु

सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेविजवाट ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। धादिङ नौविसेका पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका आइसियुमा उपचारर्थ उनको उपचारको क्रममा मृत्यु भएको उपचारमा संलग्न अस्पतालका डा.अनुज पोखरेलले बताए।

चिकित्सकका अनुसार मृतक पुरुषलाई आइतवार दिउँसो ज्वरो आउने, अर्धचेत भएपछि अस्पताल पुर्‍याइएको हो। आएको एक दिन नबित्दै उनको मृत्यु भएको हो। तीन साता अघि उनलाई घरवाहिर गएको बेला दुइ वटा कुकुरले एकैचोटि झम्टेका परिवारलाई जानकारी दिएका थिए। उनलाई कुकुरले टोकेको र टोकेपछि रेविज बिरुद्धको खोप नलिएापछि मृत्यु भएको उनको उपचारमा संलग्न डाक्टर पोखरेलले बताए। परिवारमा कसैलाई पनि कुकुरले टोकेपछि रेविज बिरुद्धको सुइ लगाउनु पर्छ भन्ने बारेमा प्रर्याप्त जानकारी नभएकोले खोप नलिएको डा.पोखरेलले बताए। ‘आफ्नो दाईलाई कुकुरले झम्टेको भनेका थिए, तर टोकेको प्रष्ट भनेका थिएनन् ’ उनले भने।

चार दिनअघि भारी बोकेकै बेला थाके भनेर थचक्क भुइँमा बसेपछि उनी थलिंदै गएका थिए। घरमै अर्धचेत हुने,ज्वरो आउने र खाना खान नसक्ने भएपछि कोरोनाको आशंकामा परिवारले अस्पताल पुर्‍याएका थिए। अस्पतालमा पुग्दा उनी पानी दिंदा डराउने र उज्यालो र अँध्यारो छुट्टयाउन नसक्ने अवस्थामा थिए। यो लक्षणसंगै चिकित्सकले रेविज भएको पहिचान गरेका थिए।

हालै रेविज लागेर मृत्यु  हुनेमा धादिङका पुरुष एक्ला हैनन्। तीन साताअघि काठमाडौं गागलफेदीकी १८ वर्षीया किशोरीको पनि रेविज लागेर मृत्यु भएको हो। उनलाई उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। अस्पतालमा पुगेपछि अस्पतालले रेविज लागेको पत्ता लगाएको थियो। गत पुसमा साँगा घुम्न जाने क्रममा उनलाई कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि उनले  घरमा जानकारी नदिएको र रेविजविरुद्ध खोप नलिएको कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

फागुनको अन्तिम सातामा पनि टेकु अस्पतालमा एक जनाको रेविजको कारणले मृत्यु भएको अस्पतालले जनाएको छ। गत वर्ष भक्तपुर सूर्यविनायक–७ का २४ वर्षीय युवकको रेविज लागेर मृत्यु भयो। उनलाई स्यालले टोकेको डेढ महिनापछि उनको मृत्यु भयो। स्यालले टोकेपछि उनले पनि रेविजविरुद्धको खोप लगाएका थिएनन्। गाउँमा कुकुरले टोकेपछि खोप लगाउनु पर्छ भन्ने सवैलाई जानकारी नभएको स्थानीय संचारकर्मी कविता थापाले बताइन्। ‘उपत्यका र नजिकका जिल्लाहरुमा अहिले पनि चिनेकै कुकुरले टोकेको भन्दै रेविजविरुद्धको खोप नलिने धेरै छन्’ उनले भने।  

के हो रेविज रोग? 

रेविज संक्रमित कुकुर या जंगली जनावरले टोकेमा वा घाउ या छालाको भागवाट रगतमा प्रवशे गरेमा लाग्ने रोग हो। रेविज लागेको कुकुर या अन्य जंगली जनावरको  र्‍यालमा हुने ‘लिशा’ भाइरस र्‍यालको माध्यमवाट मानिसको शरिरभित्र प्रवेश गरेमा मानिसलाई रेविज लाग्छ। संक्रमित कुकुर या जंगली जनावरले टोक्ने क्रममा घाउ या घाउ भएको भागबाट रगतमा प्रवेश गरेमा रेविजको संक्रमण हुन्छ। संक्रमणले स्नायु प्रणालीमा समेत फैलिन्छ।

यो भाइरस शरिरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरिरमा संक्रमण देखाा परी मृत्यु हुन्छ। कुकुर या जंगली जनावरले टोके लगत्तै रेविजविरुद्धको  खोप नलिएमा रेविज संक्रमित व्यक्तिको सय प्रतिशत मृत्यु हुन्छ। रेविजको संक्रमण हुनुअघि नै रेविजविरुद्धको खोप लिएमा रेविज लाग्दैन। खोप नलिमा रेविज लागेको व्यक्तिको सय प्रतिशत मृत्यु हुने भएकोले यो रोगकोविरुद्धमा औषधिले उपचार नहुने चिकित्सक बताउँछन्।

पानीसंग डराउने, उज्यालो र अँध्यारो छुट्टाउन नसक्ने, कुनै पनि कुराको बारेमा होस हराउँदै  जानु,ज्वरो आउने जस्ता रेविज लागेपछिको लक्षण हो। रेविजको लक्षण कसैलाई छिटो देखिन्छ भने कसैलाई वर्षदिनपछि पनि देखिन सक्ने चिकित्सक बताउँछन्।

यी प्रतिनिधी घटना बाहेक रेविज लागेर मृत्यु हुनेको संख्या नेपालमा वर्षेनी औसत १ सय जनाको मृत्यु हुने गरेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोसिस तथा अन्य संक्रामक रोग शाखाका प्रमुख डा.हेमन्त ओझाले बताए। चालु आर्थिक वर्षमा नेपालभरिमा १४ जनाको मृत्यु भएको तथ्यांक महाशाखामा पुगेको छ। तर कतिपय बिरामी वाटोमै मृत्यु हुने, घरमा मृत्यु हुने र मृत्यु भएका सवैको तथ्याकं महाशाखासम्म नआइपुग्ने कारण यकिन तथ्याकं प्राप्त नहुने जुनोसिस शाखाका प्रमुख ओझाले बताए।

रेविज खोप लगाउनै पर्छ भन्ने सवैलाई थाहा छैन 

बिकसित देशमा रेविज लागेर मृत्यु हुनेको संख्या नगन्य रहेको बेलामा नोलमा भने अहिले पनि वर्षेनी सयौ जनाको मृत्यु हुनुमा कुकुर व्यवस्थापन र रेविज रोगमा अनिवार्य खोप लगाउनुपर्छ भन्ने जानकारी नभएको प्रमुख ओझा बताउँछन्।  ‘सरकारले स्तरवृद्धि भएका सवै प्राथमिक स्वास्थ्य चौकीमा रेविज विरुद्धको निशुल्क खोप वितरण गरेको छ, लगाउनुपर्छ भन्ने जानकारीको अहिले पनि कमी छ ’ उनले भने। कुकुरले टोकेपछि सक्दो छिटो रेविजविरुद्धको खोप लगाएमा रेविजवाट बच्ने मुख्य उपाय रहेको ओझाले बताए।

कतिले घरको कुकुरले टोकेपछि रेविज लाग्दैन भन्ने  भ्रम कतिपयमा कुकुरले टोकेपछि अन्य परम्परागत उपचारमा जाने गतल अभ्यास अहिले पनि रहेकोले सबैले कुकुरले टोकेपछि या अन्य जंगली जनावरले टोकेपछि रेविजविरुद्धको खोप लिंदैनन्।

समुदायमा रहेका कुकुरको समयमै नियमित खोप व्यवस्थापन नहुँदा पनि समुदायका कुकुरले टोकेपछि रेविज बढी लाग्ने गरेको पाइएको प्रमुख ओझा बताउँछन्। कुकुरले टोकिहालेमा पनि बालबालिकाले घरका परिवारको डरले लुकाउने गर्दा रेविज लाग्ने गरेको पाइएको छ। ‘कुकुरले टोकेर आउनेमा ४० प्रतिशत बालबालिका छन्’ उनले भने। 

ओझाका अनुसार नेपालमा कुकुरलाई कुन-कुन अवस्थामा डिस्टर्व गर्नु हुँदैन भन्ने बारेमा जानकारी नहुँदा पनि रिसाएर कुकुरले टोक्ने गरेको छ। कुकुरले खाना खाएको बेला, आफ्नो बच्चालाई दुध खुवाएको बेला रिसाएर मान्छेलाई टोक्ने गर्छ। यस्तो बेलामा कुकुर चलाउन नहुने ओझाको सुझाव छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका संयोजक डा.शेर बहादुर पुन नेपालमा रेविजवाट बच्नको लागि घरमा पालेको कुकुरले टोकेमा पनि अनिवार्य रेविजविरुद्धको खोप लगाउनु पर्ने, कुकुरले हात भन्दामाथिको भाग टाउको र हातमा टोकेमा रेविज खोपको साथमा इमुनोग्लोविन खोप समेत लगाउनु पर्ने र यी भागमा कुकुरले टोकेमा सक्दो छिटो साबुन पानीले घाउ धुनु पर्ने सुझाउँछन्। तुरुन्तै घाउ साबुन पानीले सफा गर्नाले भाइरस शरिरभित्र प्रवेश गर्ने कम सम्भावना हुन्छ।  

यसको साथै सामुदाियक कुकुरलाई अनिवार्य खोप दिनु र कुनै पनि जगंली जनावरले टोकेमा रेविज बिरुद्धको सुइ लगाउनु पर्ने चिकित्सकको सुझाव छ। यसको साथै सरकारले देशभरिका स्थानीय निकाय मार्फत रेविजविरुद्धको जनचेतना अभियान कार्यक्रम संचालन गर्न आवश्यक रहेको चिकित्सकहरुको सुझाव छ। 

प्रकाशित: २३ चैत्र २०७८ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App