८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भालुले अनुहार खाइदिएको पुरुषको न्याम्समा सफल उपचार

दोलखा झिसेपुरका ५० वर्षीय जगतबहादुर सुनुवार यतिखेर आफ्नै अनुहार हेरेर झसङ्ग हुन्छन्, घरी घोरिन्छन्। गत पुस १८ गते घर नजिकैको बारीमा भालुले आक्रमण गरी पूरै अनुहार बिक्षिप्त पारेपछि उनलाई आफ्नै अनुहारे देखेर घोरिन परेको हो।  

उनको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टरमा पटक–पटक शल्यक्रिया गरी भालुले निकालेको मासु र हड्डी जोडिएको छ। तर पहिलाको जस्तो अनुहार छैन। एउटा आँखा तल झोलिएको छ भने अनुहारमा खाल्डाखुल्डी छ। सबै सामान्य अवस्थामा ल्याउन उनको थप उपचार बाँकी छ।

घटना यस्तो थियो

घटना विवरण अनुसार गत पुस १८ गते विहान ६ बजे जगत र उनका दाई टीकाबहादुर सुनुवार घरदेखि ५ सय मिटर टाढाको बारीमा घाँस काट्न गएका थिए। जंगलमाथि उनको बारी थियो। पुसको महिना मौसम खुलेको थिएन। दाई जगत र टीकाबहादुर छुट्टाछुट्टै ठाउँमा घाँस काट्न थाले। नजिकै उभिएको भालुलाई जगतले ठम्याउन सकेनन्। गोरु जस्तो देखेर टोलाएर हेरे। तर हेर्न नपाउँदै भालुले झम्टियो। उनी उत्तानो परे। ‘विहानै गोरु कसरी आयो भनेर हेर्दै थिएँ, आएर झम्टिहाल्यो, दुई दिनपछि मात्र होसमा आएँ’, जगतले घटनाबारे सुनाउँदै भने। भालुले अनुहारको हड्डीसहित, देब्रे कान समेत निकालेको थियो।

उनलाई पल्टाएर भालुले उनको अनुहार चिथोरेर क्षतविक्षिप्त पार्‍यो। उनी बेहोस भएर ढलेपछि मरेको ठानी भालु आफ्नो सुरमा हिँड्यो। केही पर पुगेपछि घाँसको भारी बोकेर आउँदै गरेका जगतका दाई टीकाबहादुरलाई भालुले देख्यो। उनलाई पनि भालुले पछिबाट आक्रमण गर्‍यो। उनी पनि ढले। उनलाई पनि मरेको ठानेपछि भालु गयो। एकछिन पछि ब्युँझिएर जगत कराउन थाले। त्यो सुनेपछि टीकाबहादुर पनि ब्युँझिए र भाइ जगत भएतिर पुगे। जगतको अनुहारबाट रक्तश्राव भइरहेको थियो। दुवै मिलेर १५ मिनेटको बाटोसम्म पुगे। त्यसपछि दुवै जना हिँड्न सकेनन्, जगत बेहोस भए। उनीहरु रोएको घरबाट सुनेपछि गाउँहरुले बोकेर घरसम्म ल्याए। घरमा पुग्दा जगत बेहोस नै थिए। टीका अलि–अलि बोल्न सक्ने थिए। दुवैलाई गाउँलेले हेलिकप्टर मगाएर सोही दिन काठमाडौ पठाए।  

काठमाडौं पुगेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको ट्रमा सेन्टरमा दुवैलाई पुर्‍याइयो। सामान्य उपचारपछि टीकाबहादुर निको भए। तर भालुले जगतको अनुहार बिक्षिप्त हुने गरी मासु र कान निकालेकोले उपचार सहज थिएन। आकस्मिक कक्षमा पुगेका चिकित्सकहरुले उनको अनुहारको हड्डीसहित मासु निकालएको स्थितिमा देखे। तर उपचारमा संलग्न चिकित्सहरु समस्या गम्भिर देखेपछि सेन्टरका मेगजिलोफेसियल सर्जनहरु डा. बन्दना खनाल, डा. इश्पा बानोहक, डा. सन्धया जोशी, र क्रेनोफेसियल सर्जन डा. किशोर भण्डारीले शाहस बटुलेर उपचार सुरु गरे। साथै थप चिकित्सकहरु डा. गौरव कर्ण, डा. श्याम किशोर चौधरी, डा. राकेश शर्मासहितको टोली उनको उपचारमा खट्यो।  

उपचारको पहिलो चरणमा भालुले चिथोरेको घाउ सफा गरियो। दोस्रो चरणमा अनुहारमा टोकेको कारण रेविजविरुद्धको भ्याक्सिन इमिनोग्लोविन घाउमै दिए। इमुनोग्लोविन दिनको लागि घाउ असामान्य भएकोले सजिलो थिएन। तर चिकित्सकहरुले जोखिम मोलेरै घाउ खोलेर इमुनोग्लोविन दिनु परेको थियो।  ‘घाउ खोल्दा रक्तश्राव हुन्छ भन्ने डर लागेको थियो’, मेगजिलोफेसियल सर्जन डा. बन्दना खनालले भनिन्।  

दोस्रो चरणमा सुनुवारलाई वार्डमा सारेर उपचार सुरु भयो। वार्डमै राखेर घाउमा टाँका लगाए। भालुले टोकेर मरिसकेको मासु निकालेर टाँका लगाएका थिए। तेस्रो चरणमा पुनः अप्रेशन थिएटरमा लगेर घाउ सफा गरे। हड्डी समेत निस्केको कारण संक्रमण हुने सम्भावना धेरै थियो। उनको पटक–पटक शल्यक्रिया गरियो। कानबाट पिप जस्तो पदार्थ आएको र आँखाको तल्लो भागको हड्डीसहित मासु निस्केकोले आँखा र नाक, कान घाँटीको चिकित्सकलाई देखाए। यी दुवै अंगमा भित्री असर नरहेको तर बाह्य शल्यक्रिया आवश्यक भएको जानकारी दिएपछि यो समूहले सुनुवारको छिया–छिया परेको अनुहार मिलाउने सर्जरी सुरु गरे। चार पटकको शल्यक्रियामा अनुहारको मासु तानेर मिलाउने, हड्डी भाँचिएको भागमा टाइटानियम पाता राख्ने र आँखाको तल्लो भागमा टाइटानियम जाली राखी शल्यक्रिया गरे। यी उपचारपछि सुनुवारको अनुहार केही सामान्य देखिएको छ।  

तर भालुले मासु निकालेको भाग सिलाउँदा मासु कम भएर मांसपेशी कडा भएर मुख सजिलै उप्काउन नमिल्ने, आँखाको भागको तल्लो भाग तन्किएको छ। यो सबै सामान्य बनाउन थप प्लास्टिक सर्जरी र मुखको फिजियोथेरापी आवश्यक पर्ने उनको उपचारमा संलग्न मेगजिलोफेसियल सर्जन डा. सन्ध्या जोशी र इश्पा वाना हकले बताए। ‘धेरै भागमा टाँका लगाएर सिलाउँदा मासु कडा बनेको छ, यसको लागि फिजियोथेरापी चाहिन्छ’, डा. हकले भनिन्।  

भालुले कान र आँखासंग जोडिएको भाग समेत च्यातेकोले अहिले सुनुवारले राम्रोसंग कान सुन्दैनन् भने देब्रे आँखा तन्किएको छ। यी दुवैको शल्यक्रिया तथा उपचार आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। यो अवस्थासम्म आइपुग्दा सुनुवार परिवारको करिव ४ लाख खर्च सुनुवारकी दिदी कविताले बताइन्। सुनुवारको आर्थिक अवस्थामा सामान्य भएकोले अहिलेसम्मको खर्च क्रण र आफन्तहरुको सहयोगले चलेको र थप उपचारको लागि खर्च कसरी जुटाउने भन्ने चिन्ता छ।

सुनुवार लामो समयदेखि भारतमा काम गरेर परिवारको खर्च चलाउँदै आएका थिए। गत वर्षको कोरोना महामारीले लकडाउन भएपछि उनी नेपाल फर्केपछि भारत फर्केनन्। गाउँमै खेतीपाती गरेर जीविका चलाइरहेका थिए। पाँच जना छोराछोरी समेत रहेकोले उनीहरुको पालनपोषण र आफ्नै उपचार कसरी चलाउने भन्ने चिन्ता उनलाई छ। ‘अहिल्यै काममा फर्किने स्थिति छैन, उपचार कसरी गर्ने?’, उनले चिन्ता पोखे।  

वीर अस्पताल र ट्रमा सेन्टरको मेगजिलोफेसियल सर्जनरुको समूहले सुनुवारको बिक्षिप्त अनुहारको उपचार गरेका हुन्। उनको उपचारमा ट्रमा सेन्टरकी मेगजिलोफेसियल सर्जन इश्पा वाना हक, डा.सन्ध्या जोशी, बन्दना खनाल र वीर अस्पतालका क्रेनोफेसियल सर्जन डा. किशोर भण्डारी छन्।  

सुनुवारसहित अस्पतालमा भालुले टोकेर मात्र उपचार पुग्ने चार वर्षको अवधिमा ६ जना पुगिसकेका छन्। उनीहरु प्रायः दुर्गम गाउँबाट रेफर भएर सेन्टरमा आइपुग्छन्। अस्पतालमा भालुबाहेक बंदेल, स्याल र बाघको आक्रमणमा परी घाइते बनेका आउने गरेका छन्। पछिल्लो समय सामुदायिक वनको कारण पनि जंगली वनको आक्रमणमा परी घाइते हुनेको संख्या बढेको हुन सक्ने वीर अस्पतालका क्रोनोफेसियल सर्जन डा. किशोर भण्डारी बताउँछन्। गाउँ नजिक सामुदायिक वन हुने र वनमा तार/वारको व्यवस्थापन नहुनुले जंगली जनावर सजिलै गाउँमा पुगेर समेत आक्रमण गर्ने गरेको पाइएको डा. भण्डारीले बताए।

प्रकाशित: २३ माघ २०७८ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App