१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोरोना संक्रमण दर स्थिर

नेपालमा केही दिनदेखि यता कोरोना संक्रमणदर ३० प्रतिशतको वरपर स्थिर रूपमा देखिएको छ। तथ्याकंअनुसार करिब ६ दिनदेखि ३० देखि ३५ प्रतिशतको वरपर संक्रमण दर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

सोमबार संक्रमणदर ३१.६ प्रतिशत थियो भने आइतबार यो दर ३२.९ प्रतिशत थियो। शनिबार त्यो भन्दा कम २६.९ प्रतिशत, शुक्रबार ३३.७, बिहीबार ३४.४ र बुधबार ३६.८ प्रतिशत थियो। यो अवधिमा संक्रमणदर पाँच प्रतिशत मात्र कम भएको देखिन्छ। यो संक्रमणदर मंगलबारसम्म ४० प्रतिशत माथिको संख्यामा थियो।

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अहिल्यै भन्न सकिंदैन,’ उनले भने। संक्रमणदर केही प्रतिशतले घटेपनि नयाँ भेरिन्यट आउने जोखिम कायमै रहेकोले सचेत हुन डा. अधिकारीले सवैलाई अनुरोध गरे।

गत २४ घन्टामा परिक्षण भएका १७ हजार ६ सय ७४ वटा नमुनामध्येमा ५ हजार ५ सय ८३ जनामा कोरोना पुष्टि भएको थियो। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ जना पुगेका छन्। तीमध्येमा ७३ हजार १ सय ७८ जना होम आइसोलेसनमा छन् भने १ हजार ४ सय ७५ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २ सय ७९ जनाको आइसियूमा उपचार भइरहेको छ भने ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मोर्डनाको २३ लाख ४० हजार खोप नेपाल आइपुग्यो

मंगलबार नेपालमा मोर्डनाको थप २३ लाख ४० हजार खोप आइपुगेको छ। यसअघि जनवरी २५ मा १६ लाख ६० हजार खोप आइपुगेको थियो। दुवै गरी हालै नेपालमा ४० लाख डोज मोर्डनाको खोप नेपाल आइसकेको छ। पहिलो चरणमा आएको १६ लाख ६० हजार खोप १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई प्रदान गरिएको छ। मंगलबार आइपुगेको खोप पनि यही उमेर समूहको लागि पहिलो र दोस्रो मात्रामा पुग्ने गरी प्रयोग हुने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

मंगलबार आइपुगेको खोप सहित ८४ लाख ५५ हजार डोज खोप भण्डारणमा रहनेछ। यसअघि ५७ जिल्लामा मोर्डनाको खोप अभियान सुरु भइसकेको छ भने ३ वटा जिल्ला (भक्तपुर, काठमाडौं र ललितपुर)मा फाइजर खोप यो उमेर समूहलाई प्रदान दिइएको छ।

यो हिसाबले बाँकी रहेका १७ जिल्लामा पहिलो डोज र ६० जिल्लामा दोस्रो डोज खोप अभियान जारी रहनेछ। दोस्रो मात्रासहित बुस्टर डोजको लागि समेत खोप पुग्ने आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए।

प्रकाशित: १९ माघ २०७८ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App