ताप्लेजुङको फुङलिङमा बैशाख २४ गतेदेखि सञ्चालित शल्यक्रियासहितको आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । शिविरमा कुल ५ सय ९१ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सचिव युवराज गिरीका अनुसार ६० जनाको मोतियाबिन्दुको र १३ जनाको आँखाको लघु शल्यक्रिया गरिएको छ ।
शिविरको अन्तिम दिन शनिवार १३ जनाको मोतियाबिन्दुको र ६ जनाको लघु शल्यक्रिया गरिएको छ । दोस्रो दिन शुक्रबार मोतियाबिन्दुको २४ र २ जनाको लघु तथा पहिलोदिन बिहीबार २३ जनाको मोतियाबिन्दुको र ५ जनाको लघु शल्यक्रिया गरिएको थियो । शिविरको अन्तिम दिन १ सय ४६ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् ।
पहिलो दिन २ सय २१ तथा दोस्रो दिन २ सय २४ जनाले आँखाको परीक्षण तथा उपचार गराएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेले जानकारी दिए । मेची आँखा अस्पताल बिर्तामोडका डाक्टर विनिता थापाको नेतृत्वमा करिव १३ जनाको चिकित्सक तथा प्राविधिकको टोलीले आँखाको उपचार तथा शल्यक्रिया गरेको मेची आँखा अस्पतालका कार्यक्रम निर्देशक कविता कार्की कडरियाले जानकारी दिईन् ।
आयोजक नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै निकायलाई आभार प्रकट गरेका छन् । शिविर सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक सहयोग गरेकोमा नेपाल नेत्रज्योति संघले मेची आँखा अस्पतालको टिमलाई धन्यवाद सहित बिदाई गरेको छ ।
बैशाख २१ र २२ गते दोभान बजारमा र २३ देखि २६ सम्म फुङलिङमा शिविरको आयोजना भएको थियो । दोभान बजारमा सञ्चालित शिविरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,मेरिङदेन गाउँपालिका र सेवा फाउण्डेसन काठमाडौं मुख्य आयोजक थिए । फुङलिङको शिविरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ,सेवा फाउण्डेसन काठमाडौं सहितका निकाय मुख्य आयोजक थिए ।
दुबै शिविरको प्राविधिक सहयोग मेची आँखा अस्पताल र डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले प्रदान गरेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार दोभानको शिविरमा ५९ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । दुईदिने शिविरमा ४३ जनाको मोतियाबिन्दुको र १६ जनाको साधारण शल्यक्रिया गरिएको हो । दुई दिनको शिविरमा ५ सय ४० जनाले आँखाको परीक्षण गराएका थिए ।
प्रकाशित: २६ वैशाख २०८३ १७:०९ शनिबार





