८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

‘चरिकोट अस्पताल बन्द हुन दिदैँनौं, एक साताभित्र बजेट पठाउँदैछौं’

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चरिकोट अस्पताल बन्द हुन नदिने र एक साताभित्रै सञ्चालनका लागि बजेट निकासा गर्ने तयारी भईरहेको जनाएको छ।  

प्रदेश सरकारको बेवास्ताका कारण आफू मातहतको चरिकोट प्रादेशिक अस्पतालको व्यवस्थापन लथालिंग बनेको र बजेट अभावमा सेवा बन्द हुने अवस्थामा पुगेको बारे नागरिकन्युज मा सोमबार समाचार प्रकाशित भएको थियो।  

मन्त्रालयले अस्पतालका लागि बजेट निकासा गर्ने निर्णय गराउन प्रदेश मन्त्रिपरिषदमा प्रक्रिया अगाडि बढाईसकेको जानकारी दिएको छ। ‘यही साता भित्र फागुनसम्मको तलब र सञ्चालन खर्च भीमेश्वर नगरपालिकाको खातामा पठाउदैछौं’, मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले मंगलबार बिहान नागरिकन्युजसंग टेलिफोनमा भने, ‘नगरपालिकाले सापटी हालेकोसहित फागुनसम्मको सबै रकम निकासा पठाउदैछौं।’ उनले अस्पतालको सेवा कुनै पनि हालतमा नरोकिने र मन्त्रालय यसमा गम्भीर रहेको सुनाए।  

खड्काले चरिकोटसहित ५ ओटा अस्पतालमा देखिएका समस्या निराकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको समेत बताए। ‘केन्द्र सरकारले हामीलाई हस्तान्तरण गरेका चरिकोटसहित ५ ओटा अस्पतालमा यस्ता समस्या छ’, उनले भने, ‘तिनको सामाधानका गरेर हाम्रो स्वामित्वमा रहेको अस्पताललाई फुलफेज मा हामी आफैं सञ्चालन गर्ने गरी गृहकार्य गरिरहेका छौं।’ चरिकोट अस्पतालमा यो आर्थिक वर्षमा कर्मचारीको तलब खुवाउने बजेट नहुँदा भीमेश्वर नगरपालिकाले आफ्ना कर्मचारीको तलब सापटी हालेर अस्पताल चलाउँदै आएको थियो। माघभित्र रकम नपठाए फागुनबाट अस्पतालमा सेवा रोकिने नगरपालिकाले बताउँदै आएको थियो।  

संघीय स्वास्थ्य मन्त्रालयकै असहयोग

२०७७ मंसिर १८ को निर्णयपछि चरिकोटसहित ५ ओटा अस्पताललाई प्रदेश मातहत राख्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष बित्न लाग्दा पनि प्रदेश सरकारलाई कर्मचारी दरबन्दी विवरण र कर्मचारी खटाउने अधिकार दिएको छैन।  

‘अस्पतालको व्यबस्थापन हामी मातहत राख्ने भनेर संघीय स्वास्थ्य मन्त्रालयले निर्णय त गर्‍यो’, प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव खड्काले भने, ‘तर कर्मचारी खटन पटन गर्न, कार्यालय प्रमुख खटाउन दरबन्दी विवरणसहित सबै कामकाज गर्नेसहित अस्पतालका सम्पत्तीहरुको समेत व्यवस्थापन गर्ने अधिकार संघीय सरकारले निर्णय गरेर दिनुपर्‍थ्याे, हो त्यही दिन ढिलो गर्दा यो सबै समस्या भएको हो।’

उनले उक्त अधिकार केन्द्र सरकारले नदिदा चरिकोट अस्पतालको बजेट मन्त्रिपरिषदबाट निर्णय गरेर झन्झटिलो प्रक्रियाबाट स्थानीय तहमा पठाउनु परेको गुनासो गरे। ‘५ ओटै अस्पतालका नाममा बजेट विजियोजन भएको छ, तर कर्मचारी खटाउने अधिकारसहितको दरबन्दी विवरण पठाउन ढिलाई हुँदा प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरेर भीमेश्वर नगरपालिकाको खातामा बजेट निकासा पठाउन लागेका हौं,’ उनले यसका लागि एक साता लाग्ने सुनाए।  

सामान्य प्रशासनबाट स्वास्थ्यमा आईपुग्नै ४ महिना  

चरिकोट अस्पतालको दरबन्दी विवरणसहित कर्मचारी खटनपटन गराउन प्रदेशलाई अधिकार प्रत्यायोजन गराउने फाईल सामान्य प्रशासन मन्त्रालयले ४ महिना लगाएर गत मंसिर २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले निर्णयका लागि उक्त फाईल संघीय मन्त्रिपरिषदमा पठाउनुपर्ने हुन्छ। तर दुई महिना यता मन्त्रालयमै रोकिएको अधिकारीहरुले बताएका छन्।  

प्रदेश सरकारका स्वास्थ्य सचिव खड्काले उक्त फाईल संघीय मन्त्रिपरिषदबाट निर्णय भएर आए चरिकोट अस्पतालमा अस्पताल प्रमुखका रुपमा मेडिकल सुपरिटेन्डेन्टसहित आवश्यक कर्मचारीहरु तत्कालै खटाउने र अस्पताललाई प्रदेश आफैंले व्यवस्थापन गरेर फुल फेजमा सञ्चालन गर्ने सुनाए। ‘फागुनअघि नै यो प्रक्रिया टुंगिन्छ कि भनेर त्यहाँको स्थानीय तहको खातामा फागुनसम्म दोश्रो चौमासिकसम्मको मात्रै खर्च पठाएका हौं’, उनले भने, ‘संघीय सरकारबाट निर्णय भएर आएछ भने चैतदेखि सुरु हुने तेस्रो चौमासिकपछि आफ्नै कार्यालय प्रमुख र कर्मचारी खटाएर प्रदेशले अझ बढी व्यवस्थित रुपमा अस्पताल सञ्चालन गर्छ।’

यो पनि पढ्नुहोस्

प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा

प्रकाशित: ११ माघ २०७८ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App