८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सिटामोलः एकजनालाई एकपत्ता मात्र!

'मौज्दात सिटामोल बेचेका छौं, थोकमा पाएका छैनौं'

शुद्ध सिटामोल अभाव हो, सिटामोल मिश्रित औषधि पर्याप्त छः औषधि व्यवसायी

ज्वरो र दुखाई नियन्त्रणमा उपयोग हुने सिटामोल गण्डकी प्रदेशमा पाउन छाडिएको औषधि व्यवसायीले बताएका छन्। व्यवसायीका अनुसार शुद्ध सिटामोल अभाव छ, तर, सिटामोल मिसिएको अरुखाले औषधि भने पर्याप्त पाइएको छ। सिटामोल मिश्रित औषधि पर्याप्त पाइने भएकोले नआत्तिन व्यवसायीले आग्रह गरेका छन्।  

औषधि व्यवसायीले थोकमा अहिले सिटामोल पाएका छैनन्। मौज्दात सिटामोल मात्र बिक्री गर्दै आएका छन्। मौज्दात सकिएको खण्डमा सिटामोल नपाउने अवस्था रहेको उनीहरुको भनाई छ। बुद्धचोकस्थित मेडिकेयर फर्माका संचालक विष्णु भण्डारीले खुद्रामा सिटामोल पाउन कठिन हुन थालेको बताए। ‘व्यवसायीले थोकमा सिटामोल किन्न पाएका छैनन। मौज्दातबाट अहिले काम चलाउ गरेका हौ,’ भण्डारीले भने, ‘थोकमा पाउन सकिएको छैन। पहिले नै राखेकोबाट अहिले बिक्री गर्दै आएका हौ। थोकमा किन्न नपाएपछि खुद्रामा अभाव हुने पक्का हो।’

भण्डारीले अहिले आफ्नो फार्मेसीमा बढीमा २५ पाता मात्र सिटामोल मौज्दात रहेको बताए। ‘बजारमा अभाव छ भन्ने सुनेपछि एकैजनाले १० पत्ता सिटामोल किन्न खोज्छन्। अहिले मैले एकजनालाई एकपत्ता भन्दा बढी दिएको छैन,’ उनले भने, ‘दशपत्ता मौज्दात गर्न जरुरी छैन। उपभोक्ता हतासिएको मात्र हो।’ औषधि व्यवसायीले दुई सातादेखि थोकमा सिटामोल किन्न नपाएको उनले बताए।  

‘हामीसँग रहेसम्म बिक्री गर्ने हो। नभएमा हामीले पनि दिन सक्दैनौ,’ उनले भने। शुद्ध सिटामोल बजारमा खुद्रामा केही ठाउँमा मात्र पाइने उनले बताए। उनका अनुसार शुद्ध सिटामोलको मुल्य एकरुपैयाँ पर्छ। ‘सिटामोल मिश्रित अरु औषधि खाँदा महंगो पर्छ,’ उनले भने, ‘सिटामोल मिश्रित अरु औषधि भने छ, तर, त्यो बेशी महंगो पर्ने हो। सिटामोल भने सस्तो छ।’ सिटामोल मिश्रित औषधि भने बजारमा पर्याप्त पाइने उनले बताए।  

नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेले पनि शुद्ध सिटामोल चाहे अनुसार पाउन छाडिएको बताए। ‘शुद्ध सिटामोल नपाएकै हो। तर, सिटामोल मिश्रण भएका औषधि पर्याप्त छन,’ पाण्डेले भने, ‘त्यहि भएर आत्तिन जरुरी छैन। शुद्ध सिटामोल भने अहिले चाहेको बेला नपाउन पनि सकिन्छ।’ उनका अनुसार प्रदेशमा सिटामोल भित्र्याउनका लागि पहल भईरहेको छ।  

अध्यक्ष पाण्डेका अनुसार नेपालमा सिटामोलको मुल्य बढाएर बेच्न मिल्दैन। किनकी शुद्ध सिटामोलको मुल्य प्रतिगोटा एकरुपैयाँ (एकपत्ताको १० रुपैयाँ) भन्दा बढी लिन पाइँदैन। पाण्डेको अनुमान अहिले गण्डकीमा प्रतिदिन दुईलाख ट्याबलेट माग भईरहेको छ। प्रदेशमा करिब १५ सय औषधि व्यवसायी छन्। सिटामोल सबैतिर पाइने सामान्य औषधि भएको र हरेक दुखाईमा उपयोग हुने भएकोले पनि यसको प्रयोग बढी हुने उनले बताए। गण्डकी प्रदेशका लागि केहीदिन भित्र आपूर्ति बढाउने गरि नेपाल औषधि लिमिटेडसँग छलफल गरिसकेको अध्यक्ष पाण्डेले बताए।  

औषधि व्यवसायीका अनुसार नेपाली कम्पनिले उत्पादन नगर्दा अहिले अभाव भएको हो। सरकारी उत्पादक नेपाल औषधि लिमिटेडले कच्चा पदार्थ अभाव भन्दै मंसिर र पुसमा उत्पादन गर्न सकेको थिएन। निजी कम्पनिले पनि उत्पादन लागत महंगो परेको तर, मूल्य भने निश्चित तोकिएकोले घाटा खेप्न नसकेको भनेर उत्पादन गर्न छाडेका थिए। व्यवसायीका अनुसार नेपालमा सिटामोलको मूल्य २०६४ सालदेखि बढेको छैन। कच्चा पदार्थको मूल्य बढेकोले घाटा हुने भन्दै निजी कम्पनिले उत्पादन नगर्दा बजारमा अभाव भएको व्यवसायीले बताएका छन्।  

नेपालमा झन्डै दुईदर्जन कम्पनिले सिटामोल उत्पादन गर्छन्। सरकारी उत्पादकले पनि दुई महिना उत्पादन गर्न सकेको थिएन। निजी कम्पनिले पनि घाटा हुने भन्दै उत्पादन रोक्दा कोरोना संक्रमण महामारीको बेला अभाव देखिएको अध्यक्ष पाण्डेले बताए। नेपालले सिटामोल आयात गर्दैन। बाहिरबाट आयात गर्दा मुल्य पनि फरक पर्छ। त्यसैले गर्दा आयात हुँदैन। नेपालमा सिटामोलको मूल्य सस्तो भएकोले बाहिरबाट आयात नहुने र स्वदेशी उत्पादन पनि बन्द हुँदा अभाव देखिएको अध्यक्ष पाण्डेले जानकारी दिए।  

बजारमा सिटामोल अभाव भईरहँदा सरकारी उत्पादक नेपाल औषधि लिमिटेडले भने केही दिनमा काठमाडौं बाहिर पनि पठाउने गरि उत्पादन गरिरहेको बताएको छ। काठमाडौंका मुख्य अस्पताल परिसरमा सिटामोल पुर्‍याईसकेको र अब काठमाडौं बाहिर पनि पठाउने तयारी भईरहेको कम्पनिले बताएको छ। नेपाल औषधि लिमिटेडका बिक्री प्रमुख दीपकरत्न तुलाधर नियमित रुपमा सिटामोल उत्पादन भईरहेको बताउँछन्। उनका अनुसार कच्चा पदार्थ नहुँदा गत मंसिर र पुसमा उत्पादन रोकिएको थियो। तर, अहिले कच्चा पदार्थ ल्याएर उत्पादन सुरु भईसकेको र अब राजधानी बाहिर पनि पठाउने तयारी भईरहेको बताए।

‘निजी कम्पनिले उत्पादन गर्न सकेका छैनन्। तर, हामीले काठमाडौंमा पठाउन थालिसकेका छौं। अब राजधानी बाहिर पठाउने हो,’ तुलाधरले भने, ‘बीचमा उत्पादन रोकिएको थियो। कच्चा पदार्थ नहुँदा मंसिर र पुसमा रोकिएको हो। त्यसको असर अहिले भएको हो।’ तुलाधरका अनुसार सिटामोल उत्पादनमा चाहिने कच्चा पदार्थ भारत र चीनबाट हुन्छ। सरकारी कम्पनिले दिनमा ३ लाख ट्याबलेट सिटामोल उत्पादन क्षमता राख्छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले सरकारी संयन्त्रमा अभाव नभएको बताए । ‘सरकारी निकायमा अभाव छैन। तर, बाहिर बजारमा अभावको हल्ला छ,’ खड्काले भने, ‘अहिले सिटामोलको समस्या होईन। सरकारी स्वास्थ्य निकायबाट निशुल्क बाड्ने ठाउँमा अभाव छैन।’ सिटामोल अभाव भएपछि सरकारले  आपूर्ति बढाउन निर्देशन दिएको उनले बताए। 

प्रकाशित: ९ माघ २०७८ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App