१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

कोभिड-१९ जोखिम न्यूनीकरण: प्रशासन र स्थानीय तहबीच समन्वय अभाव

बाँकेमा दैनिकजसो कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै छ। दोस्रो चरणमा ‘हट स्पट’ बनेको बाँके यतिबेला तेस्रो लहरको मार खेपिरहेको छ। यस्तो बेला स्थानीय प्रशासन र स्थानीय तहबीच समन्वयको आवश्यकता छ तर, यहाँका त्यस्तो भएको देखिँदैन।

स्थानीय प्रशासन र स्थानीय तहबीच समन्वय अभाव हुँदा कोरोना भाइरस न्यूनीकरणका लागि चुनौती थपिएको छ। स्थानीय प्रशासन र सँग मात्र होइन स्थानीय तहबीच अन्तरपालिकामा पनि समन्वय अभाव देखिएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्थानीय तहका प्रमुखहरु उपस्थितसमेत भएका छैनन्। डीडीएमसीले आफूहरुलाई बैठकमा उपस्थित हुन पत्राचार नगर्दा पनि आफूहरु उक्त बैठकमा उपस्थित हुन नसकेको स्थानीय तहका प्रमुखहरु बताउँछन्।

अबको डीडीएमसीको बैठकमा स्थानीय तहका प्रमुखहरुलाई पनि उपस्थित गराउने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जनाए। ‘प्रशासन र स्थानीय तहबीच समन्वयको अत्यन्तै खाँचो छ,’ उनले भने, ‘चाहेर पनि समन्वय अभाव छ।’ स्थानीय तहहरुले पनि आफ्नोतर्फबाट कोरोना भाइरस न्यूनीकरणका लागि काम गरिरहेको भन्दै उनले भने, ‘तर दुवै जिम्मेवार निकाय समन्वय गर्न आवश्यक छ।’  

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय अभाव हुँदा स्थानीय तहले आफ्नो केही कार्यक्रम गरेको देखिन्छ। पुस २७ गते प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले २५ जनाभन्दा धेरै मान्छे जम्मा हुने कार्यक्रम, सभा, सम्मेलन नगर्न आदेश जारी गरेका थिए। खजुरा गाउँपालिकाले पुस २९ गते गाउँसभा गर्‍यो। नेपालगन्ज उपमहानगरपालिकाले माघ २ गते नगरसभा आयोजना गरेर स्थानीय प्रशासनको आदेशको अवज्ञा गरिदियो। 

नेपालगन्जमा अहिले पनि कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ। दैनिक दर्जनौँको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। नगर स्वास्थ्य प्रमुख रामबहादुर चन्द भने नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको तयारी भइरहेको बताउँछन्। उनका अनुसार नेपालगन्जमा आइसोलेसन निर्माण भइरहेको छ। नगरका हरेक भीडभाड हुने क्षेत्रमा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाइएको छ। उनले भनेको जस्तो नेपालगन्जमा कोरोना संक्रमणबाट बच्न मापदण्ड अपनाइएको देखिँदैन। राप्तीसोनारी गाउँपालिकाले मेलानै सञ्चालन गर्‍यो।

गाउँपालिकाहरुले स्वास्थ्यकर्मी र जनताको समन्वयमा कोरोना भाइरस न्यूनीकरणका लागि काम भइरहेको जानकी गाउँपालिकाकी कार्यबहाक अध्यक्ष भूमिसरा धितालले बताइन्। जानकी गाउँपालिकाले मास्क, स्यानिटाइजर वितरण गरेको उनका भनाइ छ। उनका अनुसार जानकी गाउँपालिकाले पाँच बेडको आइसोलेसनसमेत निर्माण गरेको छ। स्थानीय तहहरुले कोरोना भाइरस न्यूनीकरणका लागि स्वास्थ्य मापदण्डलगायतका विषयमा समेत जनचेतनामूलक सन्देश जारी गरेको उनी बताउँछिन्।

प्रकाशित: ९ माघ २०७८ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App