८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बढ्दो कोरोना संक्रमण ग्राफ, प्रशासक निरीह दर्शक

सिरहाको चोहर्वामा लाग्न साप्ताहिक हाटमा देखिएको लापरबाह भीड। तस्बिर: मिथिलेश/नागरिक

कोरोनाको तेस्रो लहर सुरु भएपछि तीन दिनमा मधेस प्रदेशमा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ। सिरहामा ३, सप्तरीमा २, महोत्तरीमा १ र बारामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।  

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत माघ ६ गते भर्ना भएका लहान नगरपालिका -१९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहिबार मृत्यु भयो। बुधबार कोरोना पोजेटिभ पुष्टि भएका उनलाई फोक्सोमा समस्या भएपछि बिहीबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। आन्द्रामा समस्या भएका उनको पुस २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना भएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबारे मृत्यु भएको हो।

महोतरीका औरही नगरपालिका– ३ श्रीपुरका ३० वर्षीय युवकको बिहीबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भयो। माघ ५ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ती युवकको सोही दिन कोरोना संक्रमण  पुष्टि भएको थियो।  

बाराको महागढीमाई नगरपालिका–६ का ५० वर्षीय पुरुषको नारायण अस्पताल वीरगन्जमा उपचारका क्रममा बिहीबार मृत्यु भयो। उनी वीरगन्जकै निजी अस्पतालबाट रेफर भएर बिहीबार राती नारायणी अस्पतालमा आएका थिए। निमोनिया तथा मधुमेहको समस्या रहेका उनको उपचारका क्रममै मृत्यु भयो। अस्पतालमा एन्टिजेन परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

मधेस प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र फैलिरहे पनि स्थानीय स्तरमा सतर्कता शून्य प्रायःदेखिएको छ। सार्वजनिक सवारी साधन, स्थानीयस्तरमा लाग्ने हाटबजार, राजनीतिक कार्यक्रम, सरकारी कार्यालयलगायतमा मापदण्डलाई खिल्ली उडाइएको पाइन्छ। छोटो दूरीका सवारी साधनमा यात्रु खचाखच भरिएका हुन्छन्। कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ। हटिया, बजारमा पनि भीड बढ्दो छ तर मास्क, भौतिक दूरीको पालनालगायत मापदण्ड पालनामा कसैको ध्यान छैन।

सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि यहाँका अधिकांश निजी विद्यालयहरू सञ्चालनमै छन। संक्रमण उकालो लागिरहँदा विभिन्न पार्टीका राजनीतिक सभा–सम्मेलन निर्बाध भइरहेका छन्। सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि नियम उल्लंघन गर्नेमा रानीतिक दल र स्थानीय प्रशासन नै अघि देखिएका छन्।  

समग्रमा दिनहुँ संक्रमण हुनेको संख्या उच्च भइरहे पनि स्वास्थ्य मापदण्ड पालनामा कसैको ध्यान गएको छैन। खुला सिमाना हुँदै भारतबाट आवतजावत गर्नेको केही नाकामा मात्रै स्वास्थ्य परीक्षण भइरहेको छ। पर्साको वीरगन्ज, रौतहटको गौर, महोत्तरीको भिठामोड र सिरहाको माडरमा हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख विजय झाले जानकारी दिए। नेपाल भित्रिनेमा संक्रमण पुष्टि भए नेपालीलाई होम आइसोलेसनमा बस्न लगाउने र भारतीय भए उतै फर्काउने गरिएको उनको भनाइ छ। प्रदेशका बाँकी बारा, धनुषा, सप्तरी र सर्लाही गरी ४ जिल्लास्थित नाकामा भने परीक्षणको व्यवस्था छैन।

प्रदेशभर हालसम्म एक हजार तीन सय ९६ सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। दैनिक पीसीआर परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश जनस्वास्थ्य  निर्देशनालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएर आफैं परीक्षण गराउन आएकामध्ये संक्रमिहुनेहरूको संख्या अधिक छ। कोरोना पुष्टि भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। संक्रमितम एक हजार चार सय २८ मध्ये एक हजार चार सय १५ जना होम आइसोलेसनमा र बाँकी अस्पतालमा रहेको तथ्यांक छ।

जनकपुरधाम स्थित प्रयोगशालामा १२२ पिसिआर परीक्षण गर्दा ४८ जना, राजबिराज स्थित प्रयोगशालामा २६ वटा पिसिआर परीक्षण गर्दा १४ जना, सिरहा स्थित प्रयोगशालामा ४७ वटा पिसिआर परीक्षण गर्दा ३६ जना, जलेश्वर स्थित प्रयोगशाखामा १५ वटा पिसिआर परीक्षण गर्दा १० जना, मलंगवा स्थित प्रयोगशालामा २२ वटा पिसिआर परीक्षण गर्दा १६ जना, गौर स्थित प्रयोगशालामा २३ वटा पिसिआर परीक्षण गर्दा १० जना, कलैया स्थित प्रयोगशालामा ४१ वटा पिसिआर परीक्षण गर्दा २६ जना र वीरगन्ज स्थित प्रयोगशालामा ७९ वटा पिसिआर परीक्षण गर्दा ३८ जना कोरोना पोजेटिभ पुष्टि भएको निर्देशनालायले जनाएको छ। 

शनिबार जनकपुरधाम, राजबिराज,धरान र वीरगन्जमा गरी १३२ जनाको परीक्षण गर्दा ५० जना कोरोना पोजेटिभ पुष्टि भएको निर्देशनालायले जनाएको छ। प्रदेश २ को आठवटै जिल्लामा परीक्षण गराउन आउनेमध्ये सरदर ५० प्रतिशत कोरोना पोजेटिभ पुष्टि भैरहेको छ। तर, जिल्लामा हेल्चक्रयाइँ र लापरवाहिको हद नियन्त्रण गर्ने जिल्ला प्रशासकहरु कागजी निर्णय गर्नमै व्यस्त देखिन्छन्। कागजमा गरेको निर्णय सार्वजनिक गरी निरीह दर्शक बन्नु बाहेक उनीहरुको खासै भूमिका देखिदैन।

प्रकाशित: ९ माघ २०७८ ०६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App