१२ जेष्ठ २०७९ बिहीबार
स्वास्थ्य

खोप लगाउन मुख्यमन्त्री शाहीको आग्रह

तस्बिरः ‘तपाईँको मास्क खोईँ?’ अभियानको शनिबार वीरेन्द्रनगरमा शुभारम्भ गर्दै मुख्यमन्त्री शाही।

मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाविरुद्धको खोप लगाइदिन कर्णालीका नागरिकलाई आग्रह गरेका छन्। प्रदेश सरकारले खोपको कभरेज बढाएको बताउँदै मुख्यमन्त्री शाहीले स्वास्थ्य संस्थाहरुमा पुगेर खोप लगाउन आग्रह गरे।

शनिबार वीरेन्द्रनगरमा ‘तपाईँको मास्क खोई?’ अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको बताए। उनले मास्कको अनिवार्य प्रयोग गर्न र अनिवार्य खोप लगाउने व्यवस्थाका लागि जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको बताए।

‘कोरोना संक्रमण दिनदिनै बढ्न थालेको छ, यसबाट सुरक्षित रहनका लागि नागरिकले पनि सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारी सेवा लिनका लागि पनि खोप अनिवार्य छ।’ मुख्यमन्त्री शाहीले कोरोना संक्रमण बढेसँगै कर्णाली प्रवेश गर्ने मुख्य नाकाहरुमा पूर्व तयारीमा कामहरु थालिएको बताए। कर्णाली प्रवेश गर्ने मुख्य तीन वटा नाका मध्ये सुर्खेतको कुइनेमा चेकजाँचसँगै नाकामै १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको बताए। उनले बबईबाट आउने नागरिकहरु राख्नका लागि छिन्चुमा र सल्यानको कपुरकोटमा क्वारेन्टिन निर्माण भइरहेको बताए।

‘सरकारले नाकामै चेकजाँच, नाकामै उपचारको नीति ल्याएको छ,’ उनले भने, ‘सो अनुसार अहिले तीव्र गतिमा कामहरु भइराखेको छ।’ मुख्यमन्त्री शाहीले अघिल्लो वर्ष कर्णालीले अक्सिजनको चरम अभाव भोग्नु परेको र धेरै नागरिकहरुले अकालमै ज्यान गुमाउनु परेको बताउँदै अब कर्णालीले त्यो समस्या भोग्न नपर्ने बताए। ‘कर्णालीका आठ जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छ,’ उनले भने, ‘अक्सिजनका लागि अब कर्णाली भौतारिनुपर्ने अवस्था छैन।’ मुख्यमन्त्री शाहीले कर्णालीमा खोपको कमि नरहेको बताए। उनले कर्णालीका बालबालिकालाई पनि खोप लगाउन सुरु गरिएको जानकारी दिए।

मुख्यमन्त्री शाहीले १२ वर्षमाथिका लक्षित जनसंख्या मध्ये कर्णालीमा ६९ प्रतिशत नागरिकले खोप लगाएको जानकारी दिए। यस्तै १२ देखि १७ वर्षसम्मका ७९ प्रतिशत नागरिकले खोप लगाएको बताए।

प्रमुख जिल्ला अधिकारी खकेन्द्र रिजालले कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले सुरक्षाका मापदण्ड अपनाउन नागरिकहरुलाई आग्रह गरे। उनले जनचेतनामूलक कार्यक्रमसँगै मास्क नलगाउनेलाई जरिवाना गराइने बताए। ‘पहिलो चरणमा मुख्यमन्त्रीज्यूको उपस्थितिमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छौं,’ उनले भने, ‘अब मास्क नलगाउने र भीडभाड गर्नेलाई संक्रामक रोग ऐन अनुसार जरिवानाको व्यवस्था गर्छौं।’

प्रकाशित: ८ माघ २०७८ १४:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App