८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

उदयपुरमा ह्वात्तै बढ्यो संक्रमण, एकैदिन ७१ जना संक्रमित

गत मंसिरमा कोभिड संक्रमणमुक्तहरु अस्पताल छाड्नु अघि प्रमाणपत्र लिँदै। तस्बिरः महेश्वर

पछिल्लो केही दिनयता उदयपुरमा कोभिड संक्रमण ह्वात्तै बढेको छ। बिहीबार एकैदिन ७१ जना संक्रमित पाइएसँगै जिल्लामा कोभिड पोजेटिभको संख्या २ सय १४ जना पुगेको छ। जसमा महिला ८० र पुरुष १ सय ३४ जना छन्।  

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बिहीबार १ सय १९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये ७१ जनामा संक्रमण पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। हालसम्म जिल्लाभरी ३ सय ३८ जनाको एन्टीजेन्ट परीक्षणमा २ सय १४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासले बताए।  

गएको पुस २७ गतेदेखि हालसम्म १ सय ४४ र १ सय ९४ पुरुष गरी जम्मा ३ सय ३८ जनामा गरिएको परीक्षणमा संक्रमित संख्या त्यत्ति पुगेको हो। जिल्ला अस्पतालमा परीक्षण गर्दा २६ महिलासहित ९० जना संत्रमित भेटिएका छन् भने त्रियुगा नगरपालिकामा २८ महिलासहित ५२ संक्रमित फेला परेका छन्।  

त्यस्तै, कटारी नगरपालिकामा १२ महिलासहित ३२, चौदण्डीगढीमा ५ महिलासहित १६ र बेलकामा ९ महिलासहित २३ जना संक्रमित पाइएको छ। हालसम्म जिल्लाका ८ स्थानीय तहमध्ये ४ नगरपालिका र १ गाउँपालिकामा संक्रमण देखिएको छ। उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको छ।  

सदरमुकाम त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका नगरमा संक्रमण दर बढी देखिएको छ। बाँकी ३ गाउँपालिकामा भने हालसम्म संक्रमण देखिएको बिबरण आएको छैन। पहाडी गाउँपालिकाहरु रौतामाई, ताप्ली र लिम्चुङबुङमा संक्रमण अहिलेसम्म नदेखिएको स्वास्थ्यले जनाएको छ।

संक्रमितहरु धेरैजसो होम आईसोलेसनमै बसेका छन्। चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित ‘उदयपुर कोभिड अस्पताल’को आईसोलेसनमा १ पुरुष र ५ महिलासहित ६ जनाको उपचार भईरहेको छ।  

ओमिक्रोन भेरिएन्ट आएसँगै एक महिनादेखि बन्द कोभिड अस्पताल सुचारु भएको छ। गत मंसिर २६ गते सबै संक्रमित निको भएर घर फर्केपछि बन्द रहेको अस्पताल माघ ४ गतेदेखि सुचारु भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए। ०७५ मा पहिलोपटक कोभिड महामारी फैलिएपछि जिल्लाका ८ वटा स्थानीय तहहरुले आफ्नै पहलमा सो अस्पताल निर्माण थालेका थिए।  

४ नगरपालिका हरेकले १५ लाख र ४ गाउँपालिकाले १० लाखका दरले १ करोड बजेटबाट सुरु गरेको अस्पताल स्वीस सरकारको डेढ करोड सहयोग थप भएपछि २२ कोठे भवन गत वर्ष निर्माण सम्पन्न गरेर सञ्चालन हुँदै आएको छ।

प्रकाशित: ६ माघ २०७८ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App