८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जिल्ला प्रशासन कार्यालय कास्कीका कर्माचारीमा कोरोना देखिएपछि सेवा स्थगित

पासपोर्ट, राष्ट्रिय परिचयपत्र दर्ता र पेन्सन सिफारिस सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय कास्कीका कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण भएको छ। जिल्ला प्रशासन कार्यालयको राहदानी र राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जनाएका छन्। उनका अनुसार केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने केहिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेको छ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रशासनले राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा अनिश्चित कालका लागि स्थगित गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जारी गरेको विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्मका लागि राहदानी र राष्ट्रिय परिचय पत्र दर्ता सम्बन्धी सेवा स्थगित हुनेछ। प्रशासनले जारी गरेको सूचनामा तयारी अवस्थामा रहेका राहदानी भने वितरण गरिने उल्लेख छ।

प्रशासनले भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवं सेवासमेत हाललाई बन्द गरेको जनाएको छ। साथै प्रशासनले राहदानी, राष्ट्रिय परिचय पत्र र भारतीय पेन्सन सिफारिस सम्बन्धी कार्य एवम् सेवाका लागि अनलाई आवेदनसमेत नगर्न आम जनसमुदायमा अनुरोध गरेको छ।

गण्डकी प्रदेशको राजधानी कास्कीमा पछिल्लो २४ घण्टामा ३ सय ६५ जना संक्रमित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा हाल १ हजार ५ सय ४६ जना सकृय संक्रमित रहेका छन्।

प्रकाशित: ५ माघ २०७८ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App