८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

बाँकेमा बढ्दै कोरोना ग्राफ

यो सोताको पहिलो दिनअर्थात आइतबार बाँकेमा एक सय तीनजनामा कोभिड–१९ (कोरोना भाइरस) परीक्षण गर्दा ५३ जनामा संक्रमण देखियो। साताको दोस्रो दिन मंगलबार पनि उक्त तथ्यांकलाई पछाडि पार्दै कोरोना ग्राफ उक्लियो। एक सय ७२ जनामा स्वास्थ्य परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो। मंगलबार साताको तेस्रो दिन एक सय ४५ जनामा कोरोना भाइरस परीक्षण गर्दा ७७ जनामा कोरोना भाइरस देखियो।

जसमध्ये ५१ जना बाँकेका थिए। यसभन्दा अघिल्लो साताको अन्तिम दिनअर्थात शनिबार ३९ जनामा कोरोना भाइरस देखिएको थियो। कोभिड–१९ (कोरोना भाइरस) को दोस्रो लहरमा नराम्ररी प्रभावित भएको बाँकेमा तेस्रो लहर सुरुमै दिन प्रतिदिन कोरोना ग्राफ बढ्दै गएको छ। प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीद्वारा जारी स्वास्थ्य मापदण्डका आदेशलगायतका आदेश उल्लंघन र नागरिकले आफ्नो दायित्व निर्वाह नगर्दा पछिल्लो समय बाँकेमा कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको छ।

पछिल्लो १५ दिनयता बाँकेमा एक हजार एक सय तीनजनाको पीसीआर परीक्षण भएको छ। तिमध्ये तीन सय ५४ कोरोना पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। उनका अनुसार ती तीन सय ५४ जनामध्ये दुई सय ४२ जना बाँकेका हुन्।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीस्तर) को २०७८ पुस २६ गतेको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम सिडिओ खत्रीले आदेश जारी गरेका थिए। सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला, महोत्सवहरु आयोजना नगर्ने। सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्ने। जस्ता सिडिओ खत्रीले आदेश दिएका थिए।

कोरोना भाइरसको संक्रमण दैनिकजसो बढ्दै गए पनि नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्दै गएको नेपालगन्ज–१८ की शुसिला मल्ले बताइन्। ‘सावधानी नअपनाइ बजारमा बाक्लो भीडभाड छ,’ उनले भनिन्, ‘कोरोना भाइरसको जोखिम बढ्दै गए पनि नागरिक सचेत भएनन्।’ सरकारी तथा गैरसरकारी कार्यालय र अन्य सार्वजनिकस्थलमा पनि भीड कम भएको छैन। 

बाँके भारतसँग जोडिएको जिल्ला भएकाले पनि कोरोना भाइरसको उच्च जोखिममा छ। भारतमा पनि दैनिक कोरोना भाइरस बढ्दै गएको छ। नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा कडाइ नहुँदा पनि कोरोना भाइरस बढ्दै गएको नेपालगन्ज–४, सल्यानीबागका भीमप्रसाद उपाध्याय बताउँछन्। ‘सीमा क्षेत्रमा रहेको भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नागरिकमा पनि कडाइ गर्नुपर्ने जरुरी छ,’ उनी भन्छन्।

प्रकाशित: ४ माघ २०७८ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App