coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थन्किए भेन्टिलेटर, बिरामीलाई सास्ती

फाइलतस्बिर

जिल्ला अस्पतालमा बैतडीमा जडान भएको भेन्टिलेटर सञ्चालन हुन सकेको छैन। कोरोना संक्रमण बढन थालेपछि गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसक्दा बिरामीले सास्ती खेप्नु परेको छ। 

दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन। अक्सिजनको समस्या भइरहेको अस्पतालमा भेन्टिलेटरको सुविधा पनि नभएपछि उपचारका लागि बाहिर लैजानुपर्ने बाध्यता छ। गत वर्ष रेफर गरेका दुई जना संक्रमितको बाटोमै मृत्यु भएको थियो। जिल्लामै भेन्टिलेटर सञ्चालन भएको भए सायद यो अवस्था आउने थिएन। गम्भीर अवस्थाका बिरामीको बाटैमा ज्यान जाने गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर सहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको छ। जनशक्ति अभावमा भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा समस्या भएको जिल्ला अस्पताल प्रमुख डा.वशन्तराज जोशीले बताए।

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको  अस्पताल प्रमुख डा.जोशीले जानकारी दिए। आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आईसीयू सञ्चालनमा समस्या छ।

अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा महामारीमा पनि प्रयोगमा आउन नसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताए। भेन्टिलेटर सञ्चालनका लागि नभई नहुने एनेस्थेसियोलोजिस्ट एनेस्थेसियोलोजिस्ट बैतडीमा मात्र होइन सुदूरपश्चिम प्रदेशका ७ वठा पहाडी जिल्लामै छैनन। प्रदेशभर ६ जना मात्र छन्। 

सेती प्रादेशिक अस्पतालमा एक जना, महाकाली अस्पताल कञ्चनपुरमा २, डडेलधुरामा २ र टीकापुर अस्पतालमा एक जना एनेस्थेसियोलोजिस्ट कार्यरत छन् । ती पनि सबै करार सेवाका हुन्। प्रदेश सरकारले पहाडी जिल्लामा गत वर्ष नै आईसीयू र भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्तिको अभावमा थन्किएका छन्।

कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको अवस्थामा अस्पतालले आवश्यक पूर्वतयारी गर्न नसक्दा जोखिम बढदै गएको स्थानीय बताउँछन्। पहाडी जिल्लाका कुनै पनि अस्पतालमा यी विशेषज्ञ उपलब्ध छैनन्। क्रिटिकल केयरका लागि आवश्यक विशेषज्ञ चिकित्सकको संख्या सुदूरपश्चिममै अत्यन्तै न्यून छ । पहाडी जिल्लामा एक जना  छैनन्।

प्रकाशित: ३ माघ २०७८ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App