coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कर्णालीका नाकामै अस्पताल संक्रमण फैलिन नदिन सतर्कता

कोरोनाको पहिलो र दोस्रो संक्रमणको लहर रोक्न असफल भएको कर्णाली प्रदेश सरकार तेस्रो लहरको पूर्व तयारीमा जुटेको छ। भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै प्रदेश सरकारले कर्णालीमा तयारी थालेको हो। कोरोनाको अघिल्ला दुई लहरमा नाकामा प्रभावकारी जाँच नहुँदा संक्रमितहरू गाउँगाउँ पुगेपछि कर्णालीलाई महामारी नियन्त्रण गर्न हम्मेहम्मे भएको थियो।

यसपटक प्रदेश सरकारले नाकामै जाँच र नाकामै अस्पतालको सुरुवात गरेको छ। कर्णाली प्रदेश भित्रिने मुख्य तीन वटा नाका छन्। सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा प्रभावकारी स्वास्थ्य चेक जाँच र संक्रमितहरूको उपचार गर्न सके कर्णालीमा कोरोनाको तेस्रो लहरले धेरै ठूलो प्रभाव पार्ने छैन। 

प्रदेश सरकारले तीन नाकामध्ये सुर्खेतको कुइनेमा भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकहरूको चेकजाँचसँगै संक्रमितहरूको उपचारका लागि १५ बेडको अस्पताल सञ्चालन गरिसकेको छ।

प्रदेशको मुख्य नाका बबईबाट आउने नागरिकहरूका लागि भेरीगंगा नगरपालिका–१२ को मदानेचौर नजिकै होल्डिङ सेन्टर निर्माण गरिरहेको छ। ‘भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकहरूलाई चेकजाँचसँगै नाकामै क्वारेन्टिन र अस्पतालको व्यवस्था गर्दैछौं,’ मुख्य मन्त्री जीवनबहादुर शाहीले भने, ‘विगतबाट पाठ सिकेर कर्णालीमा कोरोनाको संभावित तेस्रो लहरलाई कम गर्ने गरेर सरकार तयारी अवस्थामा छ।’

अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अस्ट्रेलियन नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीङ्स फाउण्डेशनको समन्वयमा प्रदेश सरकारले कैलालीसँग सीमा जोडिएको पञ्चपुरी नगरपालिकाको कुइनेमा भदौ १ गतेदेखिनै कोरोना परीक्षण तथा जामुमा अस्पताल सञ्चालनमा ल्याएको छ।

कुइने सुर्खेतसहित दैलेख, कालिकोट, सुदूर पश्चिमको अछाम र बाजुराको मुख्य नाका हो। यो क्षेत्रका अधिकांस नागरिकहरू रोजगारीका लागि कालापहाड (भारत) जाने गर्छन्। भारतमा कोरोना संक्रमण बढेसँगै कामका लागि गएका कर्णालीवासी फर्किन सुरु भएको छ। प्रदेश सरकारले माघको दोस्रो साताभित्र बबई र कपुरकोटमा पनि क्वारेन्टिन निर्माण गरिसक्ने जनाएको छ।

‘कर्णालीको प्रमुख नाका बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकहरूलाई छिन्चुमा निर्माण हुँदै गरेको क्वारेन्टिनमा राख्ने र त्यहाँ चेकजाँच गरेपछि सम्वन्धीत जिल्ला र पालिकामा पठाउने गरेर कार्ययोजना बनाएका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘माघको दोस्रो साताभित्र क्वारेन्टिन सञ्चालनमा आउँछ।’ कोरोनाको दोस्रो लहरमा कर्णाली प्रदेश अस्पतालले विरामीको अत्याधिक चाँप ब्यहोर्‍यो।

प्रदेश सरकारले प्रदेश अस्पतालमा यसपटक गम्भीर प्रकृतिका विरामीहरू मात्रै राख्ने गरेर तयारी गरेको छ। ‘सबैभन्दा धेरै नागरिक प्रवेश गर्ने बबई नाकाबाट आउने नागरिकहरूको परीक्षणपछि कोरोना संक्रमण पुष्टी भए पनि गम्भीर अवस्थाका विरामीहरूलाई मात्रै प्रदेश अस्पतालमा ल्याउँछौं,’ मुख्यमन्त्री शाहीले भने, ‘बाँकी बिरामीलाई भेरीगंगाको मदानेचौर, गुर्भाकोटको मेहलकुना अस्पताल र सभाहलमा राख्ने व्यवस्था मिलाइने छ।’

प्रदेश स्तरीय कोभिड–१९ निर्देशक समितिले कोरोनाको तेस्रो लहरको पूर्व तयारीमा लाग्न सबै स्थानीय तहहरूलाई निर्देशन दिनुका साथै सबै जिल्लामा कोभिडका विरामीहरूलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

यस्तै यातायातको पहुँचमा नरहेका जिल्ला र स्थानीय तहका नागरिकहरूलाई सरकारले तोकेको मापदण्डअनुसार सुर्खेतकै क्वारेन्टिनमा राख्ने व्यवस्था प्रदेश सरकारले मिलाएको छ।

प्रकाशित: २ माघ २०७८ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App