७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

खोप लगाएकामा कोरोनाको असर कम

खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत प्रमाणित भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। ‘कोरोना पुष्टि भए पनि खोप लिएकाहरूमा जटिल समस्या देखिएको छैन’, उनले भने। पछिल्लो पटक कोरोना संक्रमण फैलिएपछि अस्पतालमा आएका बिरामीको अवस्था हेर्दा खोप लिएकामा सामान्य समस्या देखिएको पाइएको उनले बताए।

डा.अधिकारीका अनुसार खोप लिएकाहरूमा भन्दा नलिएकाहरूमा कोरोना संक्रमणले १० गुणा बढी जटिल समस्या बनाउँछ भने मृत्युको जोखिम १७ प्रतिशत हुन्छ। अहिले नेपालमा दुवै खाले भेरिएन्टको संक्रमण देखिए पनि खोप लिएका कारण अस्पताल भर्नादर कम भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनले बताए। उनले भने, ‘डेल्टाको संक्रमण पनि छ तर खोप लिएको जनसंख्या बढेको र जोखिममा रहेको समूहले खोप लिइसकेको हुनाले जटिल समस्या देखिने बिरामी कम छन्।’

सरकारले कोभिड १९ विरुद्धको खोप अभियान तीव्र बनाउन सकेमा कोरोनाको असर कमभन्दा कम मात्रामा पर्ने चिकित्सकहरूले बताएका छन्। ‘कति खोप कभरेज गर्न सकिन्छ, त्यही अनुसार असर कति पर्छ भन्ने कुरा निर्धारण हुन्छ ’ पुनले भने।

एकै दिन ५५ सय संक्रमित भेटिए

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५ हजार ५ हजार ८७ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो संख्या १५ सय ३४ ले बढी हो। यो हिसाबले शुक्रबार संक्रमणदर २४.७ प्रतिशत पुगेको छ । गत २४ घण्टामा २० हजार ५ सय ६० नमुना परीक्षण भएका थिए।

नयाँ संक्रमितमध्ये सबैभन्दा बढी

काठमाडौं उपत्यकाका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १ हजार ९ सय १३, ललितपुरमा ३ सय ७७ र भक्तपुरमा ३ सय १७ जना संक्रमित भएका छन् । त्यसैगरी मोरङमा २ सय ४०, कास्कीमा १ सय ७५ र चितवनमा १ सय १ जनामा संक्रमण पुष्टि भएको छ।

थप संक्रमितसहित नेपालमा संक्रमितको संख्या ९ लाख ४५ हजार ६ सय ९ पुगेको छ। हाल देशभरिमा १८ हजार २ सय ३५ जना सक्रिय संक्रमित छन्। तीमध्ये १७ हजार २ सय ९१ जना होम आइसोलेसन, ९ सय ४४ जना संस्थागत आइसोलेसनमा छन्। १ सय ११ जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १ माघ २०७८ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App