७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अस्पतालमा बढ्न थाले संक्रमित

एक सातादेखि तीव्र गतिमा वृद्धि हुँदै गएको कोरोना संक्रमणसँगै उपत्यकाका मुख्य कोभिड अस्पतालमा बिरामी भर्नादर वृद्धि हुँदै गएको छ।

एक साताअघिसम्म १३ जना कोरोना संक्रमित रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ३८ जना पुगेका छन्। तीमध्येमा नौजना गत २४ घण्टामा भर्ना भएका हुन्। २७ जना जनरल वार्ड र ११ जना आइसियुमा रहेको अस्पतालका कोभिड १९ संयोजक डा. निरज बमले बताए।

संक्रमित बढ्न थालेपछि अस्पतालले ननकोभिड वार्डलाई कोभिडमा विस्तार गर्न सुरु गरेको डा. बमले बताए। १८ वटा आइसियु बेड र जनरल वार्डका २० बेड कोभिड बिरामीका लागि भनेर छुट्याएका थियौं। अब ननकोभिड वार्डलाई पनि कोभिड बनाउनुपर्ने भयो’, उनले भने।

यस्तै युनिफाइड कोभिड अस्पताल वीरमा बिहीबारसम्म भर्ना भएका संक्रमितको संख्या ४६ पुगेको छ। ‘दस दिनअघिसम्म वीरमा कोभिडका बिरामी ८ जनामात्र थिए, अहिले बढिरहेका छन्’, अस्पतालका संयोजक डा. प्रज्वल श्रेष्ठले भने।

भर्ना भएका बिरामीमध्येमा ८ जनाको आइसियु, ४ जनाको भेन्टिलेटर र ५ जना हाइडिपेन्डेन्सी युनिटमा उपचार भइरहेको छ। कोरोना संक्रमण भएर भर्ना भएकामध्ये धेरैजसो क्यान्सर, मिर्गौला, दम तथा मधुमेहका बिरामी छन्।

भर्ना भएका बिरामी ३० वर्षमाथिका छन्। तीमध्ये केहीले खोप नलिएका र केहीले खोप लिएको डा. श्रेष्ठले बताए। भर्ना भएकामा कोरोनाको दोस्रो लहरमा जस्तो सिकिस्त हुने दर भने कम रहेको उनको भनाइ छ। वीरमा भर्ना भएका मध्ये १३ जना एउटा पनि खोप नलिएका, २५ जना पूरा मात्रा खोप लिएर ६ महिना पुगिसकेका बिरामी छन्।

गम्भीर दीर्घरोगी र वृद्धवृद्धा सिकिस्त भएको डा. श्रेष्ठले बताए। ‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ’, उनले भने। श्रेष्ठका अनुसार दोस्रो लहरमा प्रतिदिन २ सय जना संक्रमित भएमा २० देखि ३० जना अक्सिजन चाहिनेगरी भर्ना हुन्थे। तीमध्ये ५० प्रतिशतलाई आइसियु चाहिने अवस्था रहन्थ्यो।

शुक्रराज सरुवा रोग अस्पतालकी निर्देशक डा.मनिषा रावलले पनि संक्रमित संख्याको अनुपातमा भर्नादर यो पालि कम रहेको बताइन्। उनको अनुसार उक्त अस्पतालमा बिहीबारसम्ममा १२ जना कोभिड १९ का बिरामी भर्ना भएका छन्।

टिचिङको मेडिकल आइसियु बन्द  

मेडिकल आइसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमणसँगै त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएपछि बिहीबारदेखि टिचिङ अस्पतालको मेडिकल आइसियु अनिश्चित कालका लागि बन्द भएको छ।

अस्पतालका निर्देशक डा.दिनेश काफ्लेका अनुसार ८ बेड क्षमता रहेको सो आइसियुका सबै बिरामीमा कोभिड पुष्टि भएपछि उनीहरूलाई कोभिड आइसियुमा सारिएको छ। कन्ट्याक्ट टे«सिङ गर्दा त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मीसहित ६० जना बिरामी संक्रमित भेटिएका छन्।

संक्रमित हुनेमा चालक तथा अन्य कर्मचारी पनि परेका छन्। अन्य वार्डका समेत स्वास्थ्यकर्मी संक्रमित भएपछि जनशक्ति व्यवस्थापनमा कठिनाइ हुने निर्देशक काफ्लेले बताए। ‘एकैपटक ६० जना संक्रमित हुँदा स्टाफको ड्युटी मिलाउन गाह्रो हुन्छ, बिरामीलाई सेवा राम्रो दिन सक्दैनन्’ उनले भने।

कोरोना संक्रमणदर २३.५ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २३.५ प्रतिशत छ। सो अवधिमा परीक्षण भएका १५ हजार ८१ नमुनामध्ये ३ हजार ५ सय ३५ जनामा कोरोना पुष्टि भएको हो।

बिहीबारको संक्रमणदर अघिल्लो दिनकै हाराहारी रहेको छ। हाल नेपालमा १४ हजार ३ सय ४० जना सक्रिय संक्रमित छन्। संक्रमितमध्ये १ सय १० जनाको आइसियुमा, २५ जनाको भेन्टिलेटरमा र ८ सय ३७ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। १३ हजार ५ सय ३ जना होम आइसोलेसनमा छन्।

गत २४ घण्टामा थप एकजनाको कोरोनाबाट मृत्यु भएको छ। नेपालमा ११ हजार ६ सय १० जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: ३० पुस २०७८ ००:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App