६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

लुम्बिनी प्रदेशमा दिनहुँ सय संक्रमित

कोरोनाको तेस्रो चरणको भेरियन्ट संक्रमणको उच्च जोखिममा रहेको लुम्बिनी प्रदेशमा माघको पहिलो सातादेखि कोरोना संक्रमण दर बढ्ने प्रदेश स्वास्थ्य मन्त्रालयले आकलन गरेको छ।

प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत चौधरीका अनुसार पुससम्म प्रदेशमा कोरोना संक्रमणको दर उच्च हुने सम्भावना कम रहेको भए पनि माघ पहिलो वा दोस्रो सातादेखि भने संक्रमण दर उच्च हुने आकलन गरिएको बताए। मन्त्री चौधरीले अहिले फैलिइरहेको कोरोना संक्रमणदेखि आमनागरिक थप सचेत बन्नुपर्ने अवस्था आएको बताए।

‘पुस महिनाको अन्तिमसम्म पनि कोरोना संक्रमण त्यति धेरै हुने सम्भावना देखिन्न,’ उनले भने ‘तर हाम्रो प्रदेशमा माघको पहिलो वा दोस्रो सातादेखि भने संक्रमण दर उच्च हुन सक्ने सम्भावना देखिएको छ।’ उनका अनुसार पहिलो र दोस्रो चरणको संक्रमणको दर तथा अहिले भइरहेको संक्रमण दरलाई विज्ञहरूले गरेको विश्लेषण गर्दा माघमा कोरोना संक्रमण बढ्ने अनुमान गरिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले नेपाल–भारत सीमा क्षेत्रमा गरिएको चेकजाँचका क्रममा दिनहुँ संक्रमित बढीरहेको तथ्यांक छ। निर्देशनालयका सूचना अधिकारी टुकप्रसाद पोख्रेलका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा गरिएको जाँचका क्रममा दिनहुँ एक सय को हाराहारीमा संक्रमित पुष्टि हुने गरेका छन्। ‘अहिले नाकाहरूमा गरिएको जाँचका क्रममा प्रतिदिन एक सयको हाराहारीमा संक्रमित फेला पर्ने गरेका छन्,’ पोख्रेलले भने, ‘दिनहुँ संख्या बढीरहेकाले संक्रमण दर उच्च बन्दै जाने देखिन्छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपाल र भारतका मुख्य नाका क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको भन्दै अन्य साना नाकाहरूमा चेकजाँचलाई कडाइ गर्ने तयारी भइरहेको छ। ‘अहिले मुख्य नाकामा चेकजाँचमा कडाइ भइरहेको छ,’ मन्त्री चौधरीले भने, ‘अन्य साना नाकाबाट नागरिकहरू आउजाउ गरिरहेका छन्, त्यस्ता नाकामा पनि चेकजाँचको व्यवस्थापन गरिने छ।’ नाकाहरूमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमित पुष्टि भएकालाई होल्डिङ सेन्टरमा राख्ने गरिएको भए पनि सामान्य अवस्थाका संक्रमितहरू भने भाग्ने गरेको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पोख्रेलले जानकारी दिए।

यो प्रदेश कोरोना संक्रमणका लागि सबैभन्दा बढी भारतबाटै जोखिममा रहेको छ। यसअघिका दुई चरणका कोरोना संक्रमण पनि भारतबाटै प्रवेश भएको थियो। तर नेपाल–भारत सीमा नाकाहरू सील भइनसकेका कारण नेपाल–भारत आउजाउ गर्नेबाट कोरोना संक्रमण बढ्ने खतरा देखिन्छ। दाङ देउखुरीमा माघ १ मा लाग्ने मेला अझै बढी जोखिम देखिन्छ।

यो मेलामा आउने तिर्थालुहरूमध्ये अधिकांश भारतीय नागरिकनै हुन्। तर भारतीय नागरिक मेलामा आउनका लागि सरकारका पक्षबाट रोक लगाइएको छैन। दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नाका सिल गर्ने विषय प्रमुख जिल्ला अधिकारीको निर्णयमा नहुने भएकाले दुवै देशको सहमतिमा मात्रै नाका सील हुने बताए।

प्रकाशित: २६ पुस २०७८ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App