१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

सुदूरपश्चिममा तेस्रो लहरको उच्च जोखिमः सीमामा पाँच दिनमा ३ सय ११ जनामा संक्रमण

फाइल तस्बिर

भारतका विभिन्न ठाउँबाट घर फर्कने नेपालीहरूमा कोराना संक्रमण देखिने क्रम बढ्दै गएको छ।

सुदूर पश्चिमका सीमा क्षेत्रमा एन्टिजेन जाँच गर्दा पछिल्लो पाँच दिनमा मात्र ३ सय ११ जनामा संक्रमण देखिएको छ। धनगढीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भएर घर फर्कनेहरूको एन्टिेजेन जाँच गर्दा दिनहुँ संक्रमण हुनेको संख्या ह्वात्तै बढेर गएको हो। सीमामा जाँच गर्दा दिनमा एक सयभन्दा बढी जना संक्रमित देखिन थालेका छन्।

सीमामा जाँच गर्दा दिनमा फाटफुट १, २ जनामा संक्रमण देखिने गरेकोमा पुस १९ गते यता संक्रमण हुनेको संख्या बढ्दो क्रममा देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताएका छन्।

पुस १९ गते सोमबार सुदूर पश्चिमका गौरिफन्टा,गड्डाचौकी र झुलाघाट सीमामा भारतबाट घर फर्किरहेका २४ जनामा संक्रमण देखिएको थियो। मंगलबार धनगढीको गौरिफन्टा र गड्डाचौकी नाकामा एन्टिजेन जाँच्दा ३२ जनामा कोराना संक्रमण देखिएको थियो भने बुधबार ४६ जनामा कोराना पोजेटिभ देखिएको छ। सुदूर पश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सीमामा बिहीबार एकै दिन १ सय ८ जनामा संक्रमण देखापरेको थियो भने शुक्रबार १ सय १ जनामा संक्रमण देखिएको छ।

पाँच दिन यता भारतबाट घर फर्कनेहरूमा ह्वात्तै संक्रमण बढेको पाइएको जोशीले बताए। संक्रमित हुनेको संख्या बढ्न थालेपछि संक्रमित राख्न आइसोलेसन अपुग भएको छ। सीमामा नेपाली सेनाले महेन्द्रनगरको गड्डाचौकी नाका र धनगढीको गोरिफन्टा नाकाबाट आउने संक्रमितलाई राख्न १, १ हजारका क्षमताको होल्डिङ सेन्टर निर्माण गरिरहेको भए पनि संचालन हुन सकेको छैन। दोस्रो लहरका बेला निर्माण गरिएको गेटा मेडिकलमा बनाइएको आइसोलेसन पनि अहिले संचालनमा छैन।

भारतबाट फर्किरहेकाहरूमा कोराना संक्रमण देखिए पनि नयाँ भेरियन्ट ओमिक्रोन हो–होइन पत्ता लाग्न सकेको छैन। कोराना संक्रमणको कुन प्रकारको भेरियन्ट हो भनेर पत्ता लगाउन सुदूर पश्चिममा प्रयोगशाला छैन। ओमिक्रोन हो –होइन भनेर पत्ता लगाउन नमुना संकलन गरेर काठमाडौ पठाउने गरेको कार्कीले बताए।

भारतमा नयाँ भेरियन्ट तेस्रो लहर शुरू भएसँगै सुदूर पश्चिम उच्च जोखिममा परेको छ। भारतका विभिन्न शहरमा सुदूर पश्चिमबाट रोजगारीको सिलसिलामा लाखौं नेपाली रहेका छन्। खास तथ्यांक नभए पनि सुदूर पश्चिमका  ७ लाख जति भारतका विभिन्न शहरमा मजदुरी गर्ने गरेका छन्।

भारतका नयाँ भेरियन्टको आगो दन्किन शुरू भएसँगै भारतबाट घर फर्केका नेपालीहरूबाट सुमदायमा नयाँ भेरियन्टको संक्रमण भयावह रूपमा फैलिने खतरा देखिएको छ। सीमामा जाँच गरेर कोराना संक्रमण देखिएकालाई पनि आइसोलेनमा नराखी घरघर जान दिनु, भारतबाट फर्केका सबैको परीक्षण नहुनु, भारतबाट फर्केकालाई क्वारेन्टिनमा नराखिनु जस्ता कारण सुदूर पश्चिममा तेस्रो लहरको उच्च जोखिम रहेको विज्ञहरू बताउँछन्।

स्वास्थ्य विज्ञ डा.शुभेस कायस्थले पहिलो लहर र दोस्रो लहरमा पनि भारतमा फैलिएपछि यहाँ फैलिएको उल्लेख गर्दै तेस्रो लहर पनि भारतमा व्यापक रूपमा फैलिरहेकाले यहाँ पनि भयावह रूपमा फैलिने उच्च जोखिम रहेको बताए।

भारतमा नयाँ भेरियन्टको कोरानाको तेस्रो लहर फैलिएर कैयौ राज्यमा लकडाउन लगाउन शुरू गरिएको छ। भारतमा लकडाउन भएमा त्यहाँ रहेका नेपालीहरू घर फर्कने गर्छन्।

तेस्रो लहर फैलिन नदिन सीमामा कडाइका साथ सबैको जाँच, भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने र संक्रमितलाई आइसोलेसन र परीक्षणको दायरा बढाउने लगायतका तयारी गरिनुपर्ने कायस्थ बताउँछन्। भारतमा नयाँ भेरियन्टको तेस्रो लहर फैलिएसँगै भारतबाट नेपालीहरू घर फर्कने क्रम शुरू भएको छ।

प्रत्येक दिन एक हजारभन्दा बढी जना सुदूर पश्चिमका कैलालीको गौरिफन्टा, कंचनपुरको गड्डाचौकी लगायतका नाकाबाट घर फर्किरहेका छन्। भारतबाट फर्कने सबैको परीक्षण भइरहेको छैन। लक्षण देखिएका र समूहमा रहेका केही व्यक्तिलाई परीक्षण गरे पनि पूर्ण रूपमा परीक्षण भैरहेको छन्।

अहिले सबैका परीक्षण नभए पनि अब सबैको परीक्षण गर्ने तयारी गरेको जोशी बताउँछन्। गत २०७६ चैतको १४ गते पहिलो संक्रमित देखिएको र २०७७ जेठ १८ गते पहिलो मृत्यु भएको सुदूर पश्चिममा पहिलो लहरको कोरानाले ५७ जनाको मात्र मृत्यु भएको थियो। गत वैशाखको शुरूदेखि दोस्रो लहरको संक्रमण शुरू भएको थियो।  

स्वास्थ निर्देशनालयका अनुसार सुदूर पश्चिममा अहिलेसम्म ४८ हजार ६ सय ७७ जनामा कोराना संक्रमण देखापरेकोमा ६ सय १४ जनाको मृत्यु भएको छ।

प्रकाशित: २४ पुस २०७८ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App