१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

इलाममा आँखा अस्पतालको सेवा सुरु

इलाम नगरपालिकाले इलाम सामुदायिक आँखा अस्पताल सञ्चालनमा ल्याएको छ। इलाम नगरले जिल्लामा पहिलो पटक आँखा अस्पताल सञ्चालनमा ल्याएको हो।

इलाममा आँखा अस्पताल सञ्चालन गरिएपछि इलामेमात्र नभई पाँचथर, ताप्लेजुङ र तेह«थुमलगायत जिल्लाका बासिन्दाले समेत यसको सेवा लिन सक्ने भएका छन्।

यी जिल्लाबाट आँखासम्बन्धी सामान्य समस्यामा पनि झापा र विराटनगरसम्म धाउने बाध्यता थियो। ‘अब इलाममा आँखासम्बन्धी रोगको उपचार हुने भएको छ,’ इलाम नगरका मेयर महेश बस्नेतले भने, ‘इलाममात्र नभई अन्य जिल्लाका सेवाग्राहीसमेत यसबाट लाभान्वित हुनेछन्।’

अस्पतालमा अहिले शल्यक्रियाबाहेको सेवा दिन थालिएको छ। सामान्य शल्यक्रिया, जेनेरल ओपिडीको सेवा उपलब्ध गराइने छ। नगरका अनुसार सातौं तहको नेत्र विशेषज्ञ एक, पाँचौं तहको नेत्र सहायक एक, फार्मेसिस्ट एक र चस्मा बनाउने प्राविधिक एक–एक जना अहिले कार्यरत छन्। बिर्तामोड आँखा अस्पतालसँग सहकार्य गरी सेवा सुरु गरेको प्रमुख बस्नेतले बताए।

नगरले ५७ लाख ९० हजार रुपैयाँमा भवनसमेत निर्माण गरी अस्पतालको सेवा सुरु गरेको हो। अस्पतालका लागि नगरले गतवर्ष ५० लाख र चालू वर्ष एक करोड रुपैयाँ विनियिोजन गरेको थियो। इलाम नगरपालिकाको अनुदानबाटै अस्पतालको भवनसहित सेवा सञ्चालन भएको अस्पतालकी कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन्। ‘इलाममा अत्यन्त आवश्यक रहेको आँखा उपचार सुरु भएको छ,’ उनले भनिन्, ‘यसको दिगो सञ्चालनका लागि सबै इलामे जुटनुपर्छ।’

इलाम अस्पतालभन्दा मुनि जनस्वास्थ्य कार्यालय छेउको खोल्सीमा अस्पतालको संरचना निर्माण गरिएको छ। नगरले खेर गइरहेको जमिन प्रयोग गरी ट्रस्टबाट छ कोठा भएको एकतल्ले अस्पताल भवन निर्माण गरेको हो। निर्माण सुरु गरेको वर्षदिन नबित्दै भवन सम्पन्न भइ सेवासमेत दिन थालिएको हो। अस्पतालका लागि आवश्यक अरू जमिनसमेत व्यवस्थापन गरिएको छ।

अस्पताल व्यवस्थापनका लागि कार्यविधि बनाइएको नगर प्रमुख बस्नेतले बताए। जनशक्ति व्यवस्थापनमा चाहिँ चुनौती भइरहेको नगरले जनाएको छ। 

प्रकाशित: १८ पुस २०७८ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App