coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा कोरोनाविरद्धको खोप: दोस्रो डोज २६ प्रतिशत नागरिकले मात्रै लगाए

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउनेको संख्या पहिलोको भन्दा न्यून रहेको पाइएको छ। कर्णाली प्रदेशमा १८ लाख ३४ हजार ८१९ जनसंख्या छ। तिमध्ये १८ वर्षमाथिका १२ लाख तीन हजार २८८ जनसंख्या मध्ये कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ३८ प्रतिशत छन्। दोेस्रो डोज जम्मा २६ प्रतिशतले मात्रै लगाएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार १८ वर्षमुनिका ८५ हजार ५३१ जनालाई खोप लगाइएको छ। संघीय सरकारले कर्णालीलाई हालसम्म १२ लाख डोज खोप उपलब्ध गराएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले संघीय सरकारबाट प्राप्त खोपमध्ये १० लाख डोज खोप जिल्लामा पठाएको छ। ‘खोप केन्द्रहरु स्थानीय तहमा छन्, खोप लगाउने तर, त्यसको रिपोर्टिङ नगरिदिने भएकाले कर्णालीमा खोप लगाउनेहरुको संख्या न्यून देखिएको हो,’ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले भने, ‘रिपोर्टिङलाई प्रभावकारी बनाउन पहल भइरहेको छ।’

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सबै नागरिकहरुलाई खोप लगाउनका लागि आवश्यक पर्ने खोपको संख्या माग गरेका थिए। कर्णाली र सुदूरपश्चिममा खोप लगाउनेको संख्या कम देखिएपछि प्रधानमन्त्रीले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्थलगत अनुगमनका लागि खटाएका छन्।

कर्णालीमा २०७७ माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो। हालसम्म कोभिशिल्ड पहिलो र दोस्रो डोज गरेर १ लाख ९६ हजार ५२१, एस्टाजेनिका ८२ हजार ६०५ र भेरोसेल ७ लाख २६ हजार ४३६ जोड लगाइएको छ। यस्तै जोन्सन एण्ड जोन्सन ८५ हजार ७९२, मोडोर्ना ८५ हजार ५३१ र फाइजर ४ हजार ५५ डोज खोप कर्णालीका नागरिकहरुलाई लगाइएको छ। सरकारले अहिले १२ वर्षदेखि १७ वर्ष उमेरका नागरिकहरुलाई फाइजर र मोडोना खोप लगाइरहेको छ। कर्णालीमा १२–१७ वर्षका नागरिकको संख्या दुई लाख छ हजार छ।

तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये मुगुका ५१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। तर दोस्रो डोज लगाउनेहरु ३८ प्रतिशत मात्रै छन्। यस्तै डोल्पामा पहिलो डोज ४८ प्रतिशत नागरिकले लगाएका छन् भने दोस्रो डोज जम्मा २९ प्रतिशतले मात्रै लगाएका छन्। हुम्लामा ३१ प्रतिशत नागरिकले पहिलो डोज लगाउँदा दोस्रो डोज लगाउने १६ प्रतिशत मात्रै छन्। प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा पहिलो र दोस्रो डोज लगाउनेको फरक धेरै छैन्। सुर्खेतका ४३ प्रतिशत नागरिकले पहिलो डोज लगाएका थिए भने ४१ प्रतिशतले दोस्रो डोज पनि लगाएका छन्।  

‘तथ्याङ्कलाई आधार मान्ने हो भने कर्णालीमा हालसम्म ३८ प्रतिशत नागरिकले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएका छन्,’ सचिव काप्रीले भने, ‘दोस्रो डोज लगाउनेको प्रतिशत २६ मात्रै छ।’

मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री खापुङले कर्णालीमा खोपलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा छलफल गरेका थिए। उनले ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीका सबै नागरिकहरुलाई आवश्यक पर्ने खोप संघीय सरकारले उपलब्ध गराउने बताए।

‘ठूलो भूगोल र कम जनसंख्या रहेको कर्णालीका सबै नागरिकहरुलाई खोप उपलब्ध गराउन संघीय सरकार सधैं तयार छ,’ खापुङले भने, ‘तथ्याङ्कमा कर्णाली र सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या कम देखिएको छ, यसलाई प्रभावकारी बनाउनुपर्यो।’

केही दिनअघि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई फोन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आवश्यक खोप माग गर्न र सबै नागरिकहरुलाई खोप लगाउने वातावरण बनाउन निर्देशन दिएका थिए। मुख्यमन्त्री शाहीले दुई वटा खोप लगाइसकेका नागरिकहरुलाई बुष्टर डोजको व्यवस्थाका लागि खोप पठाइदिन आग्रह गरेका थिए।

स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रवीन खड्काले खोप लगाउनेहरुको यकिन तथ्याङ्क केही दिनभित्रै आउने बताए। ‘खोप लगाएका तर, रिपोर्टिङ नहुँदा कर्णालीमा खोप लगाउनेको संख्या कम देखिएको छ,’ उनले भने, ‘सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर पालिका–पालिकाको तथ्याङ्क संकलन गर्दैछौं।’

प्रकाशित: १७ पुस २०७८ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App