७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ। भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताए। ‘हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवेणी स्वास्थ्य चौकीबाट भन्सारमा हेल्थ डेस्क राखेका छौँ’, उनले भने, ‘सीमा हुँदै नेपाल भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न लगाएका छौँ।’ त्रिवेणी भन्सार खुलेको भए पनि यस नाकाबाट यात्रुबाहेक अन्य मालसामान भने आयात निर्यातको काम नभएको उनको भनाइ छ।

जिल्लामा स्वास्थ्य सचेतना वृद्धि गर्दै खोपको सहजताका लागि सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए। बालबालिकाका लागि मोडर्ना खोप लगाउन सुरु गरिएको भन्दै प्रजिअ पङ्गेनीले ज्येष्ठ नागरिकलाई भेरोसिलको बुस्टर डोज लगाउनेबारे तयारी भइरहेको जानकारी दिए।

जिल्लामा कोरोना रोकथाम र उपचारका लागि पूर्णरुपमा तयारी अवस्थामा रहेको प्रमुख चापागाईले जानकारी दिए, जिल्ला अस्पताल र स्थानीय तहका नगर अस्पतालमा गरी करिब २०० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको उनको भनाइ छ। हरेक स्थानीय तहमा चिकित्सक स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको भन्दै यसपटक जिल्लामा अक्सिजनको कमी नहुने चापागाईंले बताए।

प्रकाशित: ४ पुस २०७८ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App