८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

कर्णाली प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका घाइते तथा अपांगता भएका व्यक्तिहरूको तीनवटा अस्पतालबाट निःशुल्क उपचार सुरु गरेको छ।

प्रदेश सरकारले कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमार्फत घाइते तथा अपांगता भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्नेछ। अघिल्लो आर्थिक वर्ष घाइते तथा अपांगताहरूका लागि एक करोड ५० लाख रूपैयाँ सम्बन्धित अस्पताललाई उपलब्ध गराएको प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि थप ५० लाख बजेट छुट्याएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले द्वन्द्वपीडित घाइते अपांग उपचार राहत खर्च कार्यविधि, २०७८ को परिधिभित्र रहेर खर्च गर्ने गरी तीनवटा अस्पतालसँग सम्झौता गरिएको बताए। २०५२ फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्म राज्य र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको सशस्त्र द्वन्द्व र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपांगता भएका व्यक्ति र उनका परिवार लाभान्विन हुने उनले जानकारी दिए।

प्रदेश सरकारले द्वन्द्वपीडित र प्रदेश प्राप्तिको आन्दोलनमा घाइते तथा अपांगता भएकाहरूका लागि निःशुल्क उपचारका लागि अघिल्लो आर्थिक वर्षमा प्रदेश अस्पताललाई २५ लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २५ लाख र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० लाख रूपैयाँको अख्तियारी दिएको थियो। उक्त रकम खर्च नभएकाले हाललाई सोही रकमबाट घाइते तथा अपांगता भएका व्यक्तिहरूको उपचारमा खर्चिनुपर्नेछ। ‘अपुग रकम मागका आधारमा पठाउने निर्णय भएको छ,’ रोकायले भने, ‘त्यसका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएका छौं।’

उपचार सुविधा कर्णाली प्रदेशभित्र स्थायी बसोबास भई सशस्त्र द्वन्द्व वा प्रदेश प्राप्तिको आन्दोलनमा घाइते वा अपांगता भएका व्यक्तिले उल्लेखित अस्पतालबाट पाउने छन्। निःशुल्क उपचारका लागि घाइते वा अपांगता व्यक्तिले विवरण खुल्ने कागजात, परिचयपत्र वा नेपाल सरकारले दिएको कुनै आधिकारिक कागजात पेश गर्नुपर्ने छ।

कार्यविधिमा बिरामी अस्पताल बस्नुपर्ने भएमा उपचारको अवधिसम्म खाना तथा बास खर्च अस्पतालले कोषमार्फत व्यहोर्ने गरी खर्चिनुपर्ने उल्लेख छ। अस्पतालले घाइते वा अपांतता भएका व्यक्तिहरूलाई उपचारका लागि आवत–जावत गर्दा लाग्ने खर्च पनि उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ।

बिरामी कुरुवालाई पनि भत्ता

प्रदेश सरकारले सशस्त्र द्वन्द्व र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते भएका र अपांगता भएका व्यक्तिहरूको उपचारमा सहयोग पुर्‍याउने तथा अस्पताल भर्ना हुँदाका बखत कुरुवा बस्नेहरूका लागि पनि भत्ता र यातायात सुविधाको व्यवस्था गरेको छ। ‘घाइते वा अपांगता भएका व्यक्तिको उपचारको क्रममा आवत–जावत लाग्ने नियमानुसारको यातायात खर्च र निजको सहयोगी वा कुरुवालाईसमेत आवत–जावतवापतको खर्च खर्च उपलब्ध गराइने छ,’ कार्यविधिमा भनिएको छ, ‘बिरामीको कुरुवालाई १२ सयका दरले आवास र खाजा खर्चवापतको रकम उपलब्ध गराउनुपर्ने छ।’

प्रकाशित: २ पुस २०७८ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App