coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ढिलो बिहे गर्दा हुन सक्छ बाँझोपन

केही दशकयता महिला र पुरुषमा बाँझोपनको समस्या बिकराल बन्दै गएको छ। पछिल्लो समयमा चाहादा चाहादै पनि आमा बुबा बन्न नसकेर चिकित्सकको आउने क्रम बढ्दो छ।

वातावरणीय प्रभाव, खराब जीवनशैली जस्तोः बढ्दो उमेरमा विवाह, अधिक मोटोपन, धूम्रपान, अत्यधिक मदिरापान, आदि कारणले बाँझोपन वृद्धि भइरहेको डा. नुतन शर्माको भनाइ छ।

कुनै पनि विवाहित जोडीले एक वर्षसम्म कुनै परिवार नियोजनको साधन प्रयोग नगरेको र बच्चा जन्माउन चाहेको अवस्थामा बच्चा बस्न सकेन भने त्यसलाई बाँझोपन भनिन्छ। त्यस अवस्थामा बच्चा नभएमा समाजले समेत बाँझोपनको संज्ञा दिने गर्दछ।

सन्तान उत्पादन नहुनु एक प्रमुख कारण बाँझोपन हो। यही समस्याका कारणले कतिपय परिवारमा महिलाहरुले अवहेलना पनि खेप्दै आइरहेका छन्।

एक पटक पनि बच्चा नभएकालाई प्राथमिक बाँझोपन भनिन्छ भने एक पटक बच्चा भइसकेको छ अर्को बच्चा चाहेको बेला पनि एक वर्षसम्म बच्चा भएन भने त्यसलाई पनि बाँझोपन नै भन्ने गरिने प्रसूति तथा स्त्री रोग एवम टेष्ट ट्यूव बेबी विशेषज्ञ डा. शर्मा बताउँछिन्।

बाँझोपनको कारण?

खासगरी बाँझोपन हुने तीन कारण रहेको प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्यूव बेबी विशेषज्ञ डा.शर्माको भनाइ छ। उनका अनुसार श्रीमानको शुक्रकिटमा खराबी हुनु पनि बाँझोपनको प्रमुख समस्या हो। यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको एक अनुसन्धानले देखाएको छ।

दोस्रो कारण भनेको महिलामा डिम्ब नबन्ने समस्या। त्यो पुरुषकै समस्याको हाराहारीमा देखिएको छ। तेस्रो, महिला–पुरुष दुवैमा देखिएको स्वास्थ्य समस्याले देखिने बाँझोपन। यो समस्या २० देखि ३० प्रतिशत दम्पतीमा देखिएको शर्माको भनाइ छ।

पाठेघरको इन्फेक्सनले बाँझोपन  

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै अन्य समस्याहरू पनि देखिने गरेका छन्। गर्भ नबस्नुमा पाठेघरको नली बन्द भएर पनि हुन सक्छ। महिलाहरुले बच्चा बसिसकेपछि बच्चा तुहाउन गरिने व्यवहारले पनि बाँझोपनको समस्या बढीरहेको डा. शर्मा बताउँछिन्। महिलाको फेलोपिन ट्युब बन्द हुँदा धेरैजसो विभिन्न किसिमका संक्रमण हुन सक्छ। त्यसका साथै ट्युबरक्लोसिस, पाठेघरको नलीको इन्फेक्सनले पनि गर्भ नबस्ने उनले बताइन्।

कहिलेकाहीँ नलीमा बच्चा बसेर नली काटेर फाल्नुपर्ने हुन्छ। अर्को ध्यान दिनुपर्ने कुरा के हो भने पेटभित्रको कुनै पनि अप्रेसनमा नलीहरू बिग्रने डर हुन्छ। अप्रेसन गरिसकेपछि मान्छे उभिन्छ, त्यहाँ भएको जति फोहोर विकारहरू पाठेघर र नलीको छेउछाउमा गएर बस्न सक्छ। १४ देखि १५ प्रतिशत बाँझोपनको समस्या यसले गर्दा पनि हुने गरेको उनको तर्क छ।

त्यसैगरी, इन्डोमेट्रियोसिसी समस्याले पनि गर्भ रहँदैन। यो समस्या भनेको महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ। त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ। जसको कारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ। बाहिर निस्कँन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ। ७ प्रतिशत महिला यसकै कारण बाँझोपनको समस्या व्यहोरिरहनु परेको उनी बताँछिन्।

महिलाको बढ्दो उमेर

सामान्यतया एक महिलाले २५ देखि ३० वर्षको उमेरमा बच्चा जन्माउनु उचित मानिन्छ। ३५ वर्षपछिको उमेर बच्चा पाउन उचित समय नभएको उनले सुनाइन्। उनका अनुसार यो समयमा बच्चा बस्ने सम्भावना पनि निकै कम हुन्छ। सो समयपछि गर्भ रहेमा बच्चा अपांग हुने, डाउन्ड सिन्ड्रम हुने जोखिम रहन्छ भने आमामा पनि उमेर बढ्दै जाँदा, डायबिटिज, हाइपरटेन्सन, ओभर वेटको समस्या निम्तन्छ।

पुरुषमा पनि बाँझोपनको समस्या

महिलामा मात्र नभएर पुरुषमा पनि बाँझोपनको समस्या बढ्दो क्रममा रहेको डा शर्माको भनाइ छ। पुरुषहरुमा बाँझोपन हुनुको कारण उमेर संगै बढी तनाव, मध्यपान तथा धुम्रपान सेवनले पनि पुरुषहरुमा बाँझोपनको समस्या बढ्दै गएको उनले बताइन्।

महिलामा बाँझोपनको समस्या भए–नभएको थाहा पाउन पाँचवटै अङ्गको जाँच गर्नुपर्ने हुन्छ तर पुरुषको हकमा वीर्य मात्रै जाँचे पुग्ने डा. शर्माले जनाइन्। पुरुषको शुक्रकीटलाई माइक्रोस्कोपमा राखेर त्यसमा शुक्रकीट छ/छैन भनी परीक्षण गरिन्छ। त्यस्तै कति संख्यामा छरु त्यसको गति कति छरु आकार कस्तो छ? भन्ने कुरा १० मिनेटमै थाहा हुन्छ। महिलाको हकमा भने केही दिनको परीक्षणपछि मात्र बाँझोपनको समस्या भए–नभएको र के कारणले भएको पत्ता लगाउन सकिने उनले जानकारी दिइन्।

बाँझोपन भएको कसरी थाहा पाउने?

२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ। यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ। यसमा क्रोमोजोम हेर्नुपर्ने, अन्य हार्मोनहरूको पनि जाँच गर्नुपर्छ।

यसले कतिपय कारण पत्ता लाग्छ, कतिपय पत्ता लाग्दैन। पत्ता नलाग्ने समस्या भनेको अलिकति श्रीमानको समस्या, अलिकति श्रीमतीको समस्या जुधेर पनि भएको हुन्छ। यस्तो अवस्थामा आकस्मिकरूपमा पछि आफैँ बच्चा हुन पनि सक्छ। तर, लामो समयसम्म पनि कारण थाहा छैन भने कृत्रिम गर्भाधानपछि भने बच्चा हुने सम्भावना बढ्दो हुन्छ। त्यसमा पनि एकैपटकमा सफल नहुन सक्छ कोसिस गरिरहनुपर्छ।

किन बाँझोपनको समस्या हुन्छ?

महिलामा रजस्वलाको अनियमित पिरियड वा बीच बीचमा पिरियड रोकिनु पनि गर्भ नबस्नुको एक लक्षण हो। रजस्वलाको वृत्ति २८ दिनबाट २१ दिनमा झरेमा वा पिरियड रोकिएमा मासिक धर्म रोकिन्छ। कुनैकुनै महिलामा २० वर्षदेखि नै रजस्वला अनियमित हुन्छ जसका कारण बाँझोपनको समस्या हुन सक्छ।

बाँझोपनको सिकार भएका ५ देखि १० प्रतिशत महिलाको पिरियड पीडादायी हुन्छ। पाठेघरमा हुने एक प्रकारको ट्युमरले यस्तो पीडा हुन्छ।

के बाँझोपन भएका व्यक्तिलाई यौन इच्छा हुँदैन?

बाँझोपनको समस्या हुँदा यौन इच्छामा कमी आउँदैन। परिवार र समाजबाट एक्लिने डरले यो विषयमा दम्पतीहरू बढी चिन्तित हुन्छन्। सन्तान नभएको अवस्थामा शारीरिक कारणले भन्दा पनि मनोवैज्ञानिक कारणले यौन इच्छामा कमी आउने गर्छ। तर बाँझोपनले कुनै पनि दम्पतीमा यौन इच्छाको कमी नआएको बताइन्छ।

बाँझोपनको समाधान

पछिल्लो अवस्थामा के कारणले बच्चा नभएको हो, त्यसको जाँच गर्नुपर्ने हुन्छ। र, त्यो थाहा पाएपछि कारण पत्ता लगाएर उपचार गर्नुपर्छ।

शुक्रकीटको खराबी छ भने त्यो बढाउन लाग्ने। बढ्न सकेन भने श्रीमानको शुक्रकीट लिएर कृत्रिम गर्भाधान गर्ने। धेरै नै कम छ भने श्रीमानकै शुक्रकीट लिएर टेस्ट ट्युब बेबी जन्माउन सकिन्छ। श्रीमतीको डिम्ब नै नबन्ने छ भने डिम्ब बन्ने औषधि प्रयोग गरेर बच्चा जन्माउन सकिन्छ।

के हो टेस्ट ट्युब बेबी यो किन आवश्यक?

नेपालमा टेस्ट ट्युब बेबीको सुरुवात भएको १५ वर्षभन्दा बढी भइसकेको छ। यो प्रविधिको प्रयोग निसन्तानहरूका लागि बरदान सावित भएको छ।

यो सेवा अहिले देशका विभिन्न ठाउँमा पुगिसकेको छ। टेस्टट्युब बेबीकै कारण कयौँ दम्पतीले सन्तान सुख पाइसकेका छन्। सबै उपचार पद्धति अवलम्बन गर्दा पनि बच्चा बसेन भने मात्र टेस्ट ट्युब बेबीको आवश्यकता पर्छ। पाठेघरको सङ्क्रमण, यौनजन्य रोग आदिका कारण बच्चा नबस्न सक्छ। यो अवस्थाका निःसन्तान दम्पतीका लागि विकल्पका रुपमा टेस्ट ट्युब बेबीले सन्तान सुखलाई पूरा गर्छ।

प्रकाशित: २८ मंसिर २०७८ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App