१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का संक्रमित फेला परेका छन्। सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता डा.समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट भेटिएको जानकारी दिए।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो। 

उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले बताएको छ।हाल दुवै जना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेका छन्। हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ।

उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको र कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

प्रकाशित: २० मंसिर २०७८ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App