७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ। यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ। यसका लागि आवश्यक  खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि  खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ। मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए।

उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पुर्याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए। उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ। तीन करोड ५० लाख खोप आउने क्रममा छ।

अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन्। तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ। सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ। हिजो मात्र मङ्सिर १७ गते एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए। यस्तै मङ्सिर १० गते  एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते  दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन्।

प्रकाशित: १८ मंसिर २०७८ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App