१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

पर्सामा विशेष खोप अभियान सञ्चालन हुने

पर्सामा कोरोना भाइरसविरुद्ध विशेष खोप अभियान सञ्चालन हुने भएको छ। ‘हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर  २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।  

जिल्लाभरी पूर्ण खोप लिन बाँकी रहेका १८ वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिलाई खोप लगाउने गरी तयारी थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ। हाल १०२ वटा खोप केन्द्र रहेको जिल्लामा अभियानका लागि १० खोप केन्द्रसमेत थप गरिएको हो। आवश्यकताका आधारमा खोप केन्द्र थप गर्न सकिने कार्यालयले जनाएको छ।

धेरैभन्दा धेरै नागरिकले खोप लगाउन भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको प्रजिअ ढकालले जानकारी दिए। वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, माइस्थान चोक, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत खोप केन्द्र स्थापना गर्ने गरी तयारी गरिएको छ।

पोखरिया नगरपालिकामा हाट बजार लाग्ने दिन थप एउटा खोप केन्द्र सञ्चालन गर्नेगरी तयारी गरिएको जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।  स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले भेरोसेल र सिनोफार्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोपकोसमेत सुनिश्चितता भइसकेको पत्र स्वास्थ्य कार्यालय पर्सालाई पठाएको छ। त्यसैले अभियानमा भेरोसेल, सिनोफार्म खोपको छुटेको दोस्रो मात्रा पनि प्रदान गर्नेगरी तयारी गरिएको छ।

खोप अभियान सफल बनाउन स्थानीय तहले महिला स्वयंसेविकालाई घरघरमा पठाएर खोपबारेमा जानकारी गराउन लगाउने, अभियानका लागि तत्काल खोप पुर्याउन आवश्यक सामग्रीको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्ने, यसअघि भेरोसेल, सिनोफार्म खोपको पहिलो मात्रा लिएको र समय पुगेकालाई दोस्रो मात्रा खोप दिने, कोभिसिल्ड वा एस्ट्राजेनिका खोपको पहिलोे मात्रा लिएकालाई खोप आधारमा दोस्रो मात्रा सम्बन्धित पालिकाले नै अभियानको अन्तिम दिन दिने योजना छ।

अभियानलाई अझ प्रभावकारी बनाउन कोभिड–१९ विरुद्धको खोपस्तरीय कार्यक्रम सञ्चालन मार्गदर्शन २०७८ बमोजिम निजी तथा गैरसरकारी अस्पतालमा पनि खोप सेवा सञ्चालन गरिने गरी तयारी गरिएको हो। वीरगञ्ज विर्तास्थित नारायणी सेन्ट्रल हस्पिटल आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा मङ्गलबार र लिङ्करोडस्थित भवानी हस्पिटलमा बिहीबार खोप दिने व्यवस्था मिलाउने मिलाइएको हो। जिल्लामा एक लाख ३० हजार ६७२ जनाले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्। यो लक्षित जनसङ्ख्याको २९।६७ प्रतिशत हो। जिल्लामा १८ वर्षभन्दा माथिका चार लाख ४७ हजार जनसङ्ख्या छ।

प्रकाशित: १८ मंसिर २०७८ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App