८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारको तीव्र तयारी

अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ। सोमवार गृह मन्त्तालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताएका हुन्। 

उनले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताए। प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारीअनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताए। उनले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताए।

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताए। उनले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्‍याउन निर्देशन दिएको बताए। 

दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App