७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रसूति गृह नहुँदा गोठमै सुत्केरी

गोठमै प्रसूति गराउने भैरवी गाउँपालिका–५ डोक्रा गाउँ । तस्बिरः गोविन्द/नागरिक

भैरवी गाउँपालिका–५ डोक्राकी २० वर्षीया डिलकुमारी नेपालीलाई प्रसूति ब्यथाले च्याप्यो। गाउँमा प्रसूति गृह नहुँदा चौपाया बाँध्ने गोठमै सुत्केरी भइन्। असुरक्षित प्रसूतिका कारण उनले पहिलो सन्तानलाई बचाउन सकिनन्। स्वास्थ्यकर्मीको निगरानी तथा सुरक्षित प्रसूति नभएकै कारण बच्चाले ज्यान गुमाउनु पर्‍यो।  

उनी मात्रै होइन डोक्रा गाउँका दुई सय बढी घरधुरीको समस्या यही हो। डोक्रा मात्र होइन दैलेखका अधिकांश ग्रामिण भेकमा सुत्केरी ब्यथा लागेसँगै गोठमा प्रसूति हुनुपर्ने बाध्यता महिलाहरुमा रहेको छ। गाउँमा प्रसूति गृह नहुँदा अधिकांश महिलाहरु घर/गोठमै सुत्केरी हुनुपर्ने बाध्यता जस्तै बनेको डोक्रा गाउँमा १६ वर्षदेखि महिला स्वंयमसेविकाका रुपमा काम गरेकी धनकुमारी रानाले बताइन्।  

‘३ घण्टा टाढा रहेको भैरिकालिकाथुम स्वास्थ्य चौकीमा यहाँबाट सुत्केरी हुन विरलै जाने गरेका छन्,’ स्वंयमसेविका रानाले भनिन्, ‘भौगाेलिक रुपमा टाढा भएकाले स्वास्थ्य चौकी जान मान्दैनन्।’ स्थानीयका अनुसार वर्षातमा त खोला बढ्ने भएकाले अन्य मानिसहरु समेत आउँजाउँ गर्न कठिन हुने गर्दछ।

‘गाउँमै प्रसूति गृह भए महिलाहरुका लागि सजिलो हुने थियो,’ स्वंयमसेविका रानाले थप्दै भनिन्, 'स्वास्थ्य सेवा इकाई गाउँमा भए पनि प्रसूति गृहका लागि मान्यता पाएको छैन जसले गर्दा गर्भवती महिलाहरुले दुःख पाइरहेका छन्।’

गाउँपालिकाले प्रसूति गृह सञ्चालनका लागि चासो नदिँदा सैनचौरदेखि डोक्रासम्म ठूलो क्षेत्रफलमा फैलिएको गाउँमा महिलाहरु सुरक्षित सुत्केरी हुन पाइरहेका छैनन्। स्वास्थ्य सेवा इकाईको भवन भएपनि उपकरण र प्रसूति गृहको मान्यता नपाउँदा काम गर्न कठिन भएको अनमी भावना थापाले बताइन्।

‘गाउँ बिकट छ त्यसमा पनि स्वास्थ्य चौकी पुग्न झन टाढा छ,’ उनले भनिन्, 'प्रसूति गृह सञ्चालन अनुमतिका लागि वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षलाई बारम्वार भन्दा पनि सुनुवाई भएन।’ वर्षातमा यहाँका बिरामी अस्पतालसम्म लैजान कठिन हुने गरेको छ।

जिल्लाका बिकट महावु, ठाटीकाँध, नौमुले, भैरवी गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रसूति गृहदेखि गाउँहरु टाढा हुँदा घरमै सुत्केरी हुने गरेको जनाइएको छ। स्वास्थ्य चौकी टाढा हुँदा डोक्रा गाउँमा घर त के गोठमै सुत्केरी हुने गरेको डरलाग्दो तथ्यांक रहेको हुँदा त्यहाँ प्रसूति गृहका लागि सबै लागेर बनाउनुपर्ने भैरिकालिकाथुम स्वास्थ्य चौकीका इन्जार्ज करुणखर खत्रीले बताए।

घर/गोठमै सुत्केरी हुने गरेको खबर आएकाले डोक्रामा प्रसूति गृह चालु वर्षमै बनाएर सञ्चालन गर्ने आफूहरुको तयारी रहेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए।

प्रकाशित: १ कार्तिक २०७८ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App