७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विश्वास आर्जन गर्दै कटहरिया नगर अस्पताल

सबैतिर सरकारी अस्पतालले सेवा दिएन भन्ने गुनासो आइरहेको समयमा रौतहटको एउटा नगरपालिकाद्वारा व्यवस्थित अस्पतालले स्थानीयको विश्वास आर्जन गर्दै लगेको देखिएको छ। रौतहटको कटहरिया नगरपालिकाले व्यवस्थापन गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा विश्वसनीय उपचार हुन थालेपछि सर्वसाधारणको आकर्षण बढ्न थालेको छ। निजी अस्पताल तथा क्लिनिकमा जानुभन्दा स्थानीयबासी कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिरहेको देखिएको छ।

चौबिसै घन्टा इमर्जेन्सी तथा प्रसूति सेवा सञ्चालनमा रहेको प्रास्वाके कटहरियामा ओपिडिमा दैनिक अढाई सयदेखि तीन सय बिरामी पुग्ने गरेको अस्पतालका डा. सन्तोष यादवको भनाइ छ। अस्पतालमा चेकजाँच तथा औषधि सेवा पर्याप्त रहेकोले बिरामीहरू आउने गरेको डा. यादव बताउँछन्।

सामान्य अवस्थामा दैनिक ७÷८ जना प्रसूति गराउन आउने गरेको अस्पतालको तथ्यांकले देखाउँछ। कटहरिया नगर क्षेत्रभित्रका प्रसूतिलाई प्रास्वाकेसम्म ल्याउन तथा प्रास्वाकेबाट घरसम्म पु¥याउन एम्बुलेन्स सेवा पूर्णतया निःशुल्क बनाइएको र प्रास्वाकेमा प्रसूति गराउँदा नियमानुसार एक हजार रुपैया दिने गरिएको अस्पतालस्रोतको दाबी छ।

नगरका नागरिकलाई मुटु, चिनीजस्ता जटिल र दीर्घ रोगको औषधि पनि निःशुल्क उपलब्ध गराइने गरेको डा. यादवको भनाइ छ। साथै विभिन्न चेकजाँचको सुविधा पनि रहेकोले परीक्षणको लागि अन्यत्र जानु नपर्ने अवस्था सिर्जना भएको देखिएको छ। व्यवस्थित ल्याब रहेकोले दैनिक पन्ध्रदेखि पच्चीस जनाको अत्यन्त न्युन शुल्कमा विश्वसनीय परीक्षण हुने गरेको छ। गत साउन र भदौ महिनामा गरी नौ सय नौ जनाको परीक्षण गरिएको अस्पतालको ल्याब शाखाको तथ्यांकले बताएको छ।

प्रास्वाके कटहरियाले भरपर्दो सुविधा दिन थालेपछि अन्य पालिकाबाट पनि बिरामी आउन थालेका छन्। देवाहीगोनाही, मौलापुर, फतुवाविजयपुर र गुजरा नगरपालिकाका बिरामीहरुले पनि कटहरियामा सुविधा लिइरहेका छन्। बिरामीको अवस्थालाई दर्शाउने पाँचवटा मोनिटर जडानसमेत गरिएको र अक्सिजन तथा अन्य सुविधा भरपर्दो रहेको प्रास्वाके कटहरियामा तीन एमबिबिएससहित पर्याप्त जनशक्ति रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी गराएका छन्।

नगरका सबै नौ ओटै वडामा स्वाथ्य केन्द्रहरु व्यवस्थित भइसकेको तथा सबैमा पर्याप्त जनशक्तिका साथै औषधिको व्यवस्था पनि पर्याप्त गरिसकिएको बताउँदै साहले जिल्लाका पालिकाहरुमा कटहरियाले स्वास्थ्यको क्षेत्रमा नमुना काम गर्न सफल भएको दाबी गर्छन्। स्वास्थ्यको पूर्वाधार तयार भइसकेको र प्रास्वाके कटहरियाको व्यवस्थित अस्पताल भवन निर्माण हुन लागेको बताउँदै साहले अब शिक्षाको सुधारतर्फ नगरपालिकाको ध्यान जाने बताउँछन्। कटहरिया ४ टोलापुर स्वास्थ्य चौकीमा पुगेर हेर्दा महँगा औषधि तथा अन्य सामग्रीहरुको पर्याप्त भन्डार रहेको पाइएको छ।

बच्चाको उपचार गराइरहेका मौलापुर नगरपालिकाको सोनरनियाँका एक अभिभावकले बताउँछन् – सुविधा भएको र गरिबले सेवा पाउने भएकोले कटहरिया अस्पताल आएको छु। आफूले अरुबाट सुनेर आएको र सबै सुविधा पाएको उनको भनाइ छ।

अस्पतालको अवस्थाबारे मेयर सियाराम कुशवाहा र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले निरन्तर सोध्ने गरेको र अनुगमन गर्ने गरेको बताउँदै डा. सन्तोष यादवले नगरपालिकाको तर्फबाट अस्पताललाई पूर्ण सहयोग रहेको बताएका छन्। अस्पतालका कर्मचारीलाई पनि नगरपालिकाले पर्याप्त सेवा तथा सुविधा उपलब्ध गराएको साहको दाबी छ।  

स्वास्थ्य क्षेत्रको अधिकार पालिकामा गएपछि जिल्लामा सबैभन्दा व्यवस्थित स्वास्थ्य सेवा कटहरिया नगरपालिकाले दिएको देखिएको स्थानीयको भनाइ रहेको छ।

प्रकाशित: २६ आश्विन २०७८ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App