६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कृष्णनगरमा अझै रोकिएन झाडापखाला

बिरामीको संख्या पाँच सय नाघ्यो, शड्ढया अभावमा भुइँमा सुताएर उपचार

जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिँदै गएको छ। कृष्णनगर नगरपालिका–७, ८ र ९ मा फैलिएको झाडापखालाका बिरामीको संख्या निरन्तर बढ्दै गएको हो। पाँचौं दिनसम्म पनि झाडापखाला नियन्त्रणमा आएको छैन। झाडा पखालाबाट ५ वर्ष र ४५ वर्षका पुरुषको मृत्यु भइसकेको छ।  

झाडापखालाबाट कृष्णनगर नगरपालिकाका बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा प्रभावित भएका छन्। अस्पताल प्रशासनका अनुसार बिहीबार बिहानसम्म बहादुरगन्ज अस्पतालमा ३७० जना बिरामी सम्पर्कमा आएका छन्। 

स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।  

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयका अनुसार बहादुरगन्ज अस्पतालमा सम्पर्कमा आएका ३७० जना बिरामीमध्ये ११० जनाको उपचार भइरहेको छ भने २२८ जना निको भई घर फर्किसकेका छन्। जटिल खालका ३२ जनालाई कपिलवस्तु अस्पताल र प्रादेशिक अस्पताल बुटवल पठाइएको पाण्डेयले बताए।  

प्रकोप सुरु भएको पाँचौं दिनसम्म पनि झाडापखाला नियन्त्रणमा आउन नसकेको उनले बताए। बिरामीको संख्या निरन्तर बढिरहेकाले उपचारमा समस्या आएको छ। शड्ढया अभावमा बिरामीलाई अस्पतालको बरन्डा, गल्ली र भु्इँमा राखेर उपचार भइरहेको छ।  

अस्पतालछेउका रामगोरखा उच्च मावि र महेन्द्र प्राविमा समेत राखेर बिरामीको उपचार भइरहेको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए। 

अस्पतालबाहेक अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीको संख्या एक सयभन्दा बढी रहेको उनले बताए। मेयर शाहले प्रकोप फैलिन नदिन कृष्णनगर नगरपालिकाभरि सचेतनामूलक माइकिङ गएिको बताए। 

उनका अनुसार रामगोरखा माविमा अहिले ४० जना बिरामीको उपचार भइरहेको छ। बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडापखालाका बिरामी बढ्दै गएको अस्पतालले जनाएको छ।  

अस्पतालका डा. मुकेश चौधरीले बिरामीको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारलाई आग्रह गरेका छन्। अहिले यस अस्पतालमा ७ जना डाक्टरले उपचार गरिरहेका छन्। प्रदेशबाट २ जना, जिल्लाबाट ४ जना र एकजना यसै अस्पतालमा कार्यरत डाक्टरले उपचार गरिरहेका छन्।

दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने डाक्टरहरू बताउँछन्।उनीहरूले यो हैजासमेत हुन सक्ने बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले ५ जनाको दिसा र त्यस क्षेत्रको पानी परीक्षणका लागि काडमाडौं र प्रदेश प्रयोगशाला पठाइए पनि प्रतिवेदन आइनसकेको बताए। 

सरसफाइ अभाव र दूषित पानी प्रयोगका कारण झाडापखाला फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ। यो समयमा स्थानीयले दूषित पानीमा माछा मारेर खाँदा रोग फैलिएको अनुमान गरिएको छ। डा. चौधरीले अस्पतालमा भर्ना भएका एक सय ६५ जना बिरामीको उपचार भइरहेको बताए।

झाडापखालाबाट कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र वडा नम्बर ८ का ४५ वर्षीय रामप्रसाद केवटको मृत्यु भएको बताइएको छ। कश्यपको निजी क्लिनिकमा उपचारका क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्यु भएको मृतकका परिवारको भनाइ छ। ‘पति बिरामी भएपछि आकस्मिक पुर्जी काट्न घरमा पैसा थिएन र अस्पताल लगिनँ, उपचार नपाउदा उहाँको मृत्यु भयो,’ मृतक केवटका पत्नी दुखनाले भनिन्। 

महामारी नियन्त्रण तथा बिरामीको उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र जिल्ला अस्पताल तौलिहवाबाट चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले बताए। त्यस्तै शिवराज नगरपालिका र कृष्णानगरका विभिन्न स्वास्थ्य चौकीबाट पनि चिकित्सक र नर्स प्रभावित क्षेत्रमा खटाइएको उनले बताए।

प्रकाशित: २२ आश्विन २०७८ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App