१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

डाक्टर पढाउँदै कर्णाली प्रदेश सरकार

दैलेख जिल्ला अस्पतालको भवन शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेश सरकारले हरेक वर्ष ५० जना डाक्टर उत्पादन गर्ने भएको छ। स्वास्थ्यका दृष्ट्रिकोणले पछाडी परेको कर्णालीमा बाह्य जिल्लाका विशेषज्ञ चिकित्सकहरु आउन मान्दैनन्। प्रदेश सरकारले कर्णालीकै नागरिकहरुलाई चिकित्सक बनाएर कर्णालीमै सेवा गर्ने वातावरण बनाउने उद्देश्यले डाक्टर पढ्न छात्रवृत्ति दिने निर्णय गरेको छ।  

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीका १० जिल्लाबाट पाँच–पाँच जनाका दरले डाक्टर उत्पादन गर्न बजेट छुट्याइएको बताए। ‘अहिले बाहिरबाट आउने चिकित्सकहरु कर्णालीमा बस्न मान्दैनन्, दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन प्रदेश सरकारले आफै जनशक्ति उत्पादन गर्दैछ,’ शुक्रबार दैलेख जिल्ला अस्पतालको भवन शिलान्यास गर्दै मन्त्री बुढाक्षेत्रीले भने, ‘चालू आर्थिक वर्षदेखि १० वटै जिल्लाबाट पाँच–पाँच जनालाई छात्रवृत्तिमा डाक्टर पढाउँदैछौं।’  

प्रदेश सरकारको छात्रवृत्तिबाट पढेका चिकित्सकहरुले कम्तिमा पाँच वर्ष कर्णालीमै बसेर सेवा गर्नुपर्ने छ। प्रदेश सरकारले यसका लागि ‘कर्णालीको जनशक्ति, कर्णालीमै सेवा’ भन्ने नारा तय गरेको छ। संघीय सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु कर्णालीमा आउन नमान्ने र आएपनि तोकिएको अवधिसम्म नबस्ने भएकाले प्रदेश सरकारले डाक्टर पढ्न छात्रवृत्तिको व्यवस्था गरेको हो। ‘जहाँको जनशक्ति, त्यहीँ सेवा भन्ने उद्देश्य यो कार्यक्रमको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘यो कार्यक्रममार्फत केही वर्षभित्रै नागरिकको घर–घरमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने प्रदेश सरकारको लक्ष्य पूरा हुन्छ।’

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले विशेषज्ञ चिकित्सक उत्पादनका लागि छात्रबृत्ति दिन कार्यविधि निर्माणको काम भइरहेको बताए। ‘चिकित्सक पढाउन कति खर्च लाग्छ, प्रदेश सरकारले कति छात्रवृत्ति दिनेलगायतका विषयमा अहिले छलफल गरिरहेका छौं,’ उनले भने, ‘दशैं लगत्तै कार्यविधि बनाएर कार्यान्वयनमा लैजान्छौं।’  

अस्पताल भवन शिलान्यास

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले दैलेख जिल्ला अस्पतालको नयाँ भवन शिलान्यास गरेका छन्। प्रदेश सरकारको ३७ करोड रुपैयाँबाट ५० बेडको जिल्ला अस्पताल बनाउन लागिएको हो। ३५ महिनाभित्र निर्माण सम्पन्न हुने गरेर प्रेरणा–क्याराचान–सुपरफास्ट जेभी काठमाडौंले लिएको छ। भवन शिलान्यास गर्दै मन्त्री बुढाक्षेत्रीले जनशक्तिका साथै स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकार गम्भीर रहेको बताए। उनले चालू आर्थिक वर्षबाटै दैलेखसहित सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पामा ५० शैय्याको भवन निर्माणको काम सुरु गरिएको बताए। 

‘हरेक जिल्लामा ५० शैय्याको अस्पताल बनाउने प्रदेश सरकारले निर्णय गरेको छ,’ उनले भने, ‘त्यसैका लागि चालू आर्थिक वर्षमा पाँच वटा जिल्ला अस्पतालका भवनहरु निर्माण गर्दैछौं।’ उनले नागरिकको घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि स्थानीय तहसँग साझेदार गरेर स्वास्थ्य शिविर, प्रदेश प्रमुख जेष्ठ नागरिक शिविर, ७९ वटै स्थानीय तहका पायकपर्ने स्थानहरुमा मेडिकल मार्चलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको बताए।

प्रकाशित: २१ आश्विन २०७८ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App