coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी हालसम्म १५ लाख ६२ हजार ७ सय ३९ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन् भने १६ लाख २२ हजार ४ सय ४१ जनाले पहिलो मात्रा खोप लिएका छन्। उपत्यकाका तीन जिल्ला गरी २२ लाख ९ हजार ७ सय ७४ जनालाई खोप लाउने लक्ष्य सरकारले लिएको छ।  

तथ्यांकअनुसार काठमाडौं जिल्लामा ७८, भक्तपुरमा ७५ र ललितपुरमा ७६ प्रतिशतले पहिलो मात्रा खोप लिइसकेका छन्। त्यसैगरी काठमाडौंमा ७४, भक्तपुरमा ६३ र ललितपुरमा ६९ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन्। उपत्यकामा बाँकी जनसंख्यालाई सन् २०२१ भित्रै सबैलाई खोप लगाउने तयारी भइरहेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले बताए। उनका अनुसार उपत्यकाबाहिरका अन्य सहरहरूमा पनि सकेसम्म छिटो गरी सबै जनसंख्यालाई खोप लगाउने तयारी भइरहेको छ।  

१२ वर्षमाथिका जनसंख्यालाई समेट्ने गरी खोप लगाउने तयारी भएकाले फाइजर र मोर्डनाको खोप लिने प्रक्रिया अघि बढिरहेको र सो खोप यही वर्षको डिसेम्बरभित्र आइपुग्ने सम्भावना रहेको दाहालको भनाइ छ।  

काठमाडौं उपत्यकामा जनघनत्व बढी रहेको र यस्तो ठाउँमा छिटो कोरोना संक्रमण हुने सम्भावना हुने भएकाले कतिपय खोप मिति सकिनेगरी सीमित संख्यामा आउँदा अन्य प्रदेशमा वितरण गर्न नसकिने अवस्थाले गर्दा अन्य सहरको तुलनामा काठमाडौं उपत्यकामा बढी जनसंख्याले खोप लाउने अवसर पाएको दाहालले बताए। उपत्यकाबाहिर कम जनसंख्या भएका १० वटा जिल्लाका नागरिकले पूर्ण खोप लगाइसकेको उनले जानकारी दिए।  

संक्रमणदर १० प्रतिशत  

बिहीबार नेपालमा कोरोना संक्रमणदर १०.४ प्रतिशत रह्यो। २४ घण्टाभित्रमा परीक्षण भएका ८ हजार ५ सय ५५ वटा पिसिआर नमुनामध्ये ८ सय ९८ जनामा कोरोना पुष्टि भएको हो। एन्टिजेन र पिसिआर दुवै गरी ११ हजार ७ सय ६५ वटा नमुना परीक्षण भएकोमा १ हजार ७८ जनामा कोरोना पुष्टि भएको हो। यो हिसाबले संक्रमणदर ११ प्रतिशत देखिन्छ। थप संक्रमितसहित नेपालमा कुल संख्या ८ लाख ८६ हजार ६ सय १४ जना पुगेका छन्।  

हाल देशभरिमा १८ हजार १ सय ६८ जना सक्रिय संक्रमित छन्। तीमध्ये १६ हजार ८ सय २ जना होम आइसोलेसनमा छन् भने १३ सय ६६ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। तीमध्ये पनि ३ सय ५३ जनाको आइसियुमा उपचार भइरहेको छ।  

काठमाडाैं उपत्यकामा बिहीबार ३ सय ६९ जनामा कोराना संक्रमण पुष्टि भएको छ। बिहीबारसम्म २४ घण्टाको अन्तरालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ। थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३५ पुगेको छ।

प्रकाशित: १५ आश्विन २०७८ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App