८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

आरमदायी र तनावयुक्त जीवनशैली मुटुलाई जोखिम

आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै  गएको चिकित्सकहरुले औल्याएका छन्। बुधवार विश्व मुटुरोग दिवसको अवसरमा उनीहरुले स्वस्थ जीवनशैली अपनाएर मुटु बचाउन सुझाउँदै विश्व मुटु दिवस सम्पन्न भएको छ।

नेपालमा दुइ दशकदेखि यता तिब्र  रुपमा बृद्धि भएको सहरी जीवनशैली, गलत खानपान र तनावयुक्त जीवनशैलीको कारण यो रोग बर्षेनी बढ्दै गएको गंगालाल हृदय केन्द्रका निर्देशक तथा मुटुरोग बिशेषज्ञ डा. चन्द्रमणी अधिकारीले बताए। उनले आजभोलि चिल्लो तथा बोसोयुक्त खाने कुरा, जंकफुड जस्ता खानाहरुको प्रयोग गर्ने चलन बढिरहेको छ। 

त्यसको साथै यातायातको सुविधा हुनाले हिंडडुल,व्यायम जस्ता शारिरीक गतिबिधीको कमीले मुटुरोगीहरुको संख्यामा बृद्धि हुँदै गइरहेको छ। डा.अधिकारीका अनुसार बोसोयुक्त तथा चिल्लो खानेकुराको प्रयोगले उच्चरक्तचाप, कोलस्ट्रोलमा  बृद्धि भई मुटुको रक्तनली साँघुरिन गइ मुटुमा समस्या आउँछ। तनावको कारणले पनि रक्तनली साँघुरिन गई उच्चरक्तचापको बढेको मनमोहन कार्डियोभास्कुलर थोरासिक तथा ट्रान्सपलान्ट सेन्टरका मुटुरोग बिशेषज्ञ डा. अनिल भट्टराइ बताउँछन्। 

उनको अनुसार पछिल्लो जीवनशैली पेशा,व्यवसाय, पहिचान जस्ता पक्षमा तीब्र प्रतिस्पर्धामा रहेकोले उनीहरुमा रक्तनली तथा मुटुजन्यरोग बढिरहेको छ। ‘ पेशामा तिब्र प्रतिस्पर्धा छ, जुन पहिलेका मानिसमा थिएन, रातिको १२ बजेसम्म नसुत्ने र विहानै उठेर काम गर्ने जीवनशैलीले तनाव निम्ताएको छ’ उनले भने। यो वाहेक मध्यपान,  धुमपान, र्सुिर्तजन्य पदार्थको सेवनले पनि मुटुरोगको समस्या बढिरहेको छ।

विश्व मुटुदिवसको अवसरमा सामाजिक संञ्जाल मार्फत मुटुरोग बिशेषज्ञ डा. ओम मुर्ति अनिलले उल्लेखित गलत जीवनशैली बाहेक रिसाहा व्यक्तिमा पनि मुटुरोगको उच्च जोखिम हुने बताएका छन्। रिसाउँदा रक्तनलीहरु खुम्चिने र शरिरमा बिभिन्न हर्मोनहरु उत्पादन गर्ने हुनाले मुटुमा समस्या बढ्ने बताए। ‘ कुनै पनि जोखिम जीवनशैली छैन तर सो व्यक्तिमा रिसाहा बानी छ  भने हृदयघात भएको देखिन्छ’ उनले भने। उनले संजाल मार्फत रिस र नकरात्मक सोंचलाई त्यागेर आनन्दमय जीवनशैली अनपाउन सुझाए।  

डा. अधिकारीले पछिल्लो समय गलत जीवनशैलीको कारण भर्खरका युवामा समेत मुटुलाई जोखिम हुने समस्या उच्च रक्तचाप देखिएको बताए। त्यो बाहेक युवा उमेरमै हृदयघात हुनेको संख्यामा पनि उल्लेख्य बढेको छ। अस्पतालमा उपचारमा आएका मध्येमा १२ प्रतिशत ४५ बर्ष मुनिका व्यक्तिमा हृदयघात भएको अस्पतालको तथ्याकं छ। अस्पतालमा प्रति दिन कोभिड १९ पछि ६ सय जना बिरामी बहिरंग विभागमा उपचारमा आउँछन् भने त्यो अघि दैनिक ७ सय जना बिरामी उपचारको लागि पुग्थे।  

स्वस्थ जीवनशैली अपनाएमा मुटुरोगको जोखिमबाट बच्न सकिने डा. भट्टराइले सुझाए। उनको अनुसार दैनिक कम्तीमा एक घण्टा हिड्ने, व्यायम गर्ने, चिल्लो,बोसोयुक्त खाना, बढी नुनु तथा चिनीयुक्त खाना नखाने, चाउ–चाऊ जस्ता जंकफुड नखाने, रातो मासुको प्रयोग नगर्ने, सागपात, तरकारी तथा ताजा फलफूल जस्ता ताजा खाने कुरा खाने, चिन्ता तथा भयरहित जीवन जिउने, ३०÷३५ बर्ष माथिका व्यक्तिले उच्चरक्तचाप, तौल, कोलस्ट्रोलको नियमित जाँच गरी नियन्त्रणमा राख्ने, मध्यपान,धुमपान नगर्ने, तनावरहित जीवन जिउने गरेमा मुटुरोगबाट बच्न सकिन्छ। यसको साथै नियमित रुपमा मुटुको जाँच तथा परिक्षण गरेर सम्भावित जोखिमबाट बच्न सकिने चिकित्सकको सुझाव छ।  

चिकित्सकका अनुसार पछिल्लो समय नेपालमा धुमपान तथा सुर्तिन्जय पदार्थको सेवन गर्नेहरुको संख्या बढ्दै गएको छ। तर बाथमुटुरोगीको संख्या भने केही बर्षदेखि घट्दै गएको अस्पतालको अनुभव छ। तथ्याकं अनुसार नेपालमा नसर्ने रोगले मृत्यु हुने पहिलो नम्वरमा मुटुरोगको कारणले मृत्यु हुने हुने गरेको छ। विश्वको तथ्याकं अनुसार प्रति बर्ष  कुल मृत्युको ३० प्रतिशत मृत्यु मुटुरोगको कारणले हुन्छ। यो हिसावले प्रति बर्ष १ करोड ८० लाख मानिसको मृत्यु मुटुजन्य रोगको कारणले हुन्छ। नेपालमा नसर्ने रोग मध्येमा २७ प्रतिशत मुटुरोगीको संख्या छ।  

बुधवार स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले नेपालमा मुटुरोगीको निशुल्क उपचार गर्ने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको बताए। उनले ललितपुरको एक कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन्। ‘स्वस्थ जीवनशैली नै स्वस्थ मुटुको आधार ’ भन्ने नाराका साथ विश्व मुटुदिवस नेपालभर सम्पन्न भएको छ। स्वस्थ खाने कुरा खाने, शारिरीक व्यायम गर्ने, शरिरको तौल नियन्त्रणमा राख्ने, मानसिक तनाव व्यवस्थापन गर्ने, धुमपान नगरी मुटु बचाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सुझाएको छ।  

प्रकाशित: १४ आश्विन २०७८ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App