७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जवानीमै सचेत नभए बुढ्यौलीमा अल्जाइमर

बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।

ह्याम्स अस्पतालका जियार्टिसियन डा. रमेश कँडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पे्रस ब्रिफिङको क्रममा बोल्दै बुढ्यौलीमा आउने यो रोगबाट बच्न युवा उमेरमै स्वास्थ्यमा ध्यान दिन सुझाए। 

डा. कडेलका अनुसार अल्जाइमर रोग विशेष गरी ६५ वर्षपछि केही मानिसमा र ४० प्रतिशत ज्येष्ठ नागरिकमा ८० वर्षपछि आउने हुनाले सुरुमा अल्जमाइरको लक्षण देखिनेबित्तिकै उपचारमा लगेमा नियन्त्रणमा राख्न सकिन्छ। 

पुराना कुरा याद हुने, भर्खरै गरेको कुरा बिर्सिनेजस्ता लक्षण यो रोगको सुरुका लक्षण हुन्। यो रोगको सुरुमै उपचारमा गए नियन्त्रणमा राख्न सकिन्छ। सुरुमै उपचार गरे यो रोगको थप वृद्धि नभई बुढ्यौलीको उमेर बिताउने व्यक्ति र उनको हेरचाहमा खटिने दुवैलाई सहज हुने डा. कँडेलले बताए।  

चिकित्सकका अनुसार बुढ्यौलीमा हुने यो रोग युवा हुँदा अपनाएका गलत जीवनशैलीको कारण देखापर्छ। स्वस्थ जीवनशैली नअपनाउँदा हुने मधुमेह, उच्च रक्तचाप, एक्लोपना, निष्क्रिय दैनिकीजस्ता जीवनशैली भएका व्यक्तिहरू बुढ्यौलीमा अल्जाइमर लाग्ने सम्भावना उच्च हुन्छ। 

त्यसका लागि युवा उमेरमै यी रोग लाग्नबाट बच्ने जीवनशैली अपनाउनुपर्ने चिकित्सकको सुझाव छ। सक्रिय जीवनशैली अपनाउने, सामाजिक जीवनशैली अपनाउने, व्यायाम, खानपानजस्ता स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्छ ।

समयमै उपचार नभए अल्जमाइमर लागेका व्यक्तिमा बिर्सिन समस्या थप जटिल बनेर शरीरले अन्य आवश्यक नियमित कामहरू गर्न नसक्ने, बोल्न नसक्ने, खाना निल्न नसक्ने भएर थला पर्छन्। थला परेपछि निमोनियाजस्ता अन्य संक्रमण भएर मृत्युसमेत हुन्छ। जटिल अल्जाइमर भएपछि औसत आयु चारदेखि पाँच वर्ष मात्र हुन्छ। सन् २०१५ को तथ्यांकअनुसार नेपालमा ७८ हजार मानिसमा अल्जाइमरको समस्या छ। 

सन् २०३० सम्ममा यो संख्या २ लाख अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सामाजिक सुरक्षा कोषबाट नेपालमा ज्येष्ठ नागरिक सेवाका लागि बजेट विनियोजन गरिएको छ। यो कोषबाट अल्जाइमर रोगको उपचारका लागि १ लाख रूपैया विनियोजन गरिएको छ। 

सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाकी प्रमुख गोमादेवी निरौलालाले बुधबार ज्येष्ठ नागरिकको सुविधाका लागि सरकारले अस्पतालहरूमा ज्येष्ठ नागरिकको लागि बहिरंग सेवा र अन्तरंग सेवाको छुट्टै व्यवस्था गरिसकेको छ। ज्येष्ठ नागरिक स्याहार केन्द्र निर्देशिकाको नीतिगत व्यवस्था गरेको जानकारी दिइन्। यो वर्षको विश्व ज्येष्ठ नागरिक दिवस ‘बोझ होइन बुढ्यौली, जरुरी छ स्वस्थ जीवनशैली’ भन्ने नाराका साथ मनाइयो ।

प्रकाशित: ८ आश्विन २०७८ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App