coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुर्खेतमा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ। यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ।  

छ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन्। सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए। 'पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको अभाव छ,' उनले भने, 'अन्य औषधिसमेत अभाव भएको छ।'  

स्वास्थ्यचौकीमा आइरन चक्की र परिवार नियोजनका साधनको समेत अभाव हुने गरेको छ। यस्तै भेरीगङ्गास्थित छिन्चु स्वास्थ्यचौकीमा समेत जिन चक्की अभाव भएको बरिष्ठ स्वास्थ्य सहायक गोकर्ण बुढाले जानकारी दिए। एक वर्षदेखि जिन चक्कीको अभाव रहेको उनले बताए। जिन चक्कीको अभाव भएपछि बिरामी मर्कामा परेका छन्।  

स्वास्थ्यचौकीले उपलब्ध गराउने ४२ प्रकारका निःशुल्क औषधिमध्ये आधाजसो मात्र स्वास्थ्यचौकीमा उपलब्ध हुने गरेको उनले बताए। त्यसैगरी स्वास्थ्यचौकीमा ग्याष्टिक, छाला, कानको समस्या भएका बिरामीलाई उपलब्ध गराइने औषधिसमेत अभाव भएको रहेको बुढाले बताए। रामघाट र छिन्चुमा मात्र होइन जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ। छिन्चु स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक बुढाले यहाँ अभाव हुँदा कतिपय औषधि स्वास्थ्य संस्था आफैँले खरिद गर्ने गरेका छन्।

यस्तै भरीगङ्गा स्वास्थ्य शाखाले सङ्घबाट खरिद भएर आउने औषधि समयमा नआउँदा औषधिको अभाव भएको जनाएको छ। अति आवश्यक औषधि स्वास्थ्यचौकीमा अभाव नभएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अर्जुन चपाईले बताए। 'केन्द्रले खरिद गरेर पठाउने नौ प्रकारको औषधि अभाव भएको छ,' उनले भने, 'जिन चक्कीका साथै परिवार नियोजनका साधनको समेत अभाव छ।' जनस्वास्थ्य कार्यालयलाई औषधि अभावको विषयमा पटक पटक जानकारी गराइएको उनले बताए।

प्रकाशित: ३० भाद्र २०७८ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App