८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

नेपाल सरकारले अर्को सातादेखि सुरु गर्ने खोप अभियानमा ४० वर्ष माथिका उमेर समूहलाई प्राथमिकतामा राखिने परिवार कल्याण महाशाखा तथा आपूर्ति महाशाखाले जनाएको छ। बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

एकै पटक धेरै खोप आउने भएपछि यो उमेर समूह खोपको प्राथमिकतामा परेको महाशाखाले जनाएको छ। यसअघिको खोप अभियानमा ५० वर्ष माथिको उमेर समूह र अन्य पेसागत समूहहरू खोपको प्राथमिकतामा परेका थिए। 

खोप लिनका लागि नेपाल वायु सेवा निगमको जहाज बुधबार चीन जाँदै छ। बिहीबार आइपुग्ने गरी जहाज जाने तयारी भइरहेको महाशाखाप्रमुख ढुंगानाले बताए। ४४ लाख डोज खोप दोस्रो चरणको खरिद प्रक्रियाबाट आउन लागेको र एक लाख डोज खोप भने संस्थागत सहयोगबाट आउन लागेको हो।

खोप आएको एक साताभित्रै देशभर अभियान सुरु हुने महाशाखाले जनाएको छ। यसअघि पहिलो डोज खोप १९ प्रतिशत जनसंख्याले लिइसकेका छन् भने दोस्रो डोज लिनेको संख्या १७ प्रतिशत छ। थप खोप आएपछि नेपालमा थप २२ लाख ५० हजार जनसंख्याले पहिलो र दोस्रो दुवै खोप लिनेछन्। यो पालिको खोप अभियानले बाँकी रहेका गम्भीर तथा दीर्घरोगीलाई समेत समेट्ने भएको छ।

चीनबाट एकै पटक ४५ लाख डोज आउने भए पनि भण्डारणका लागि कुनै समस्या नभएको प्रमुख ढुंगानाले बताए। महाशाखाका अनुसार यो खोपमा एउटै बट्टामा पाँच जनालाई दिन मिल्ने गरी बनेको हुनाले एकै पटक धेरै संख्यामा लिन सम्भव भएको हो। 

खोप आइपुगेको एक साताभित्रै सातै प्रदेशमा खोप अभियान सुरु हुने महाशाखाले जनाएको छ। उपत्यकाभित्र त्रिभुवन विमानास्थल, उपत्यकाबाहिर विराटनगर, हेटौंडा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत सहरमा रहेको खोप भण्डारण केन्द्र र केन्द्रीय खोप भण्डारणमा एकै पटक खोप भण्डारण गर्न सकिने ढुंगानाले जानकारी दिए।

नेपालले आगामी जनवरीभित्र एक तिहाइ जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य लिएको छ। विश्व बजारमा खोप आपूर्ति विस्तारै सहज हुँदै गइरहेकाले आगामी चैतभित्र नेपालले लक्षित जनसंख्यालाई खोप दिन सम्भव हुने महाशाखाले बताएको छ।

विश्वमा पाँच अर्ब जनताले खोप लिइसकेका छन्। विश्व बजारमा खोप पनि पहिलेको भन्दा सहज बन्दै गएकाले नेपाल सरकारले लक्षित समयमै सबै खोप आपूति गर्ने सम्भावना देखिएको प्रमुख ढुंगानाले बताए।

संक्रमणदर १०.८ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर १०.८ प्रतिशत रहेको छ। परीक्षण भएका १४ हजार ४ सय ४३ वटा एन्टिजेन र पिसिआर नमुना परीक्षण भएकोमा १५ सय ६२ जनामा कोरोना पुष्टि भएको हो। पिसिआर विधिबाट भने ११ सय ८० जना अर्थात् ११.४ प्रतिशतमा संक्रमणदर रहेको छ।

 थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ। हाल नेपालमा २६ हजार २ सय २ जना सक्रिय संक्रमित छन्। तीमध्ये २४ हजार ६ सय ९० जना होम आइसोलेसनमा छन् भने १५ सय १२ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये ४ सय ५३ जनाको आइसियुमा उपचार भइरहेको छ। गत चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित: ३० भाद्र २०७८ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App