coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोभिड - १९ पछि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्यो

विगतका बर्षहरुमा गत आर्थिक बर्षमा नेपालमा कोभिड - १९ को कारण आत्महत्या गर्नेहरुको संख्या बढेको सरकारी तथ्यांकले औल्याएको छ। नेपाल प्रहरीको तथ्याकंअनुसार आर्थिक बर्ष २०७७/०७८ मा नेपालमा आत्महत्या गर्नेको संख्या ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन्। यो दर २०७६ /०७७ मा ६ हजार २ सय ४१ जना थिए भने ०७५/०७६ मा नेपालमा आत्महत्या गर्नेको संख्या ५ हजार ७ सय ५४ जनाले आत्महत्या गरेका थिए। यो हिसावले नेपालमा अघिल्लो बर्षको तुलनामा ८ सय ७६ जना बढीले आत्महत्या गरेका हुन्।

गत आर्थिक बर्षमा नेपालमा भएको आत्महत्याबाट भएको मृत्यु संख्या कोभिड - १९ महामारीले भएको मृत्यु भन्दा बढी रहेको मानसिक स्वास्थ्यका विज्ञहरुले औँल्याए।

आइतवार मानसिक अस्पताल पाटनका निर्देशक डा. वासुदेव कार्कीले ‘विश्व आत्महत्या रोकथाम दिवस’ को अवसरमा प्रस्तुत  गर्दै यस्तो बताएका हुन्। उनकाअनुसार गत आर्थिक बर्षको नेपालमा भएको आत्महत्याको संख्या १८ महिनाको अवधिमा कोभिड १९ वाट भएको मृत्यु संख्या भन्दा बढी हो। कोभिड १९ को अवधिमा युवा उमेरका किशोर–किशोरीको समेत आत्महत्या गर्ने संख्या बढी भएको डा. कार्कीले बताए। त्यसैगरी वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या पनि आत्महत्यामा बढी देखिन्छ।

चिकित्सकका अनुसार कुनै पनि प्राकृतिक विपद तथा महामारीको बेला असुरक्षाको कारण पहिल्यै कुनै न कुनै मानसिक रोग लागिसकेका व्यक्तिहरुमा समस्या बढ्छ। नेपालमा पनि कोभिड - १९ महामारीपछि डिप्रेसन, कडा मानसिक रोग भएका र अन्य प्रकारका मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरुवाट आत्महत्या गर्ने गर्छन्। यो कारणले पनि बिगतका बर्षहरुमा भन्दा कोभिड -१९ पछि नेपालमा आत्महत्या गर्नेका संख्या बृद्धि भएको हो।

मानसिक स्वास्थ्य सर्वेक्षण सन् २००२ को सर्वेक्षण अनुसार १० प्रतिशत बयष्कमा आफ्नो जीवनकलमा कुनै न कुनै समयमा आत्महत्याको सोच आउँछ। ३.९ किशोर/किशोरीमा कुनै न कुनै रुपमा आत्महत्याको प्रयास गर्छन्। सन् २०१९ को सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयष्क समुहले आत्महत्या गर्ने सोच भएको बताएका थिए। सन् २०२० मा प्रत्येक दिन आत्महत्या घटनामा १९ जना व्यक्तिको मृत्यु भएको थियो।

१५ देखि ४५ बर्षभित्रमा महिलाको मृत्युको पहिलो कारण आत्महत्याको कारणले हुन्छ। प्रत्यके ४० सेकेण्डमा विश्वमा एक आत्महत्याको घटना हुन्छ। एक आत्महत्याको घटना भन्दा २५ गुणा आत्महत्याको प्रयास हुन्छ। एक जनाको आत्महत्याबाट १ सय ३५ जना प्रभावित हुन्छन्।

आत्महत्या गर्न रोक्न सकिन्छ

आत्महत्या गर्न खोजिरहेको व्यक्तिलाई आफन्त या छिमेकीले रोक्न सक्ने सरोकारवालाहरु बताउँछन्। शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सरोकारवाला विज्ञहरुले हरेक घरपरिवार र टोल छिमेकीको सहयोगले आत्महत्या रोक्न सकिने सुझाए। ९० प्रतिशत आत्महत्या गर्ने व्यक्तिमा मानसिक रोग हुन्छन्। त्यसमा पनि ८० प्रतिशतन डिप्रेसनको समस्या भएका, लामो समयदेखि रक्सीसेवन गरेर मनोसमस्या भएका व्यक्तिहरु हुन्छन्। यस्ता व्यक्तिले आत्महत्याको लागि केही दिनदेखि योजना बनाइरहेका हुन्छन्। जुन योजनाको लक्षण नजिकका व्यक्तिले कुनै न कुनै रुपमा थाहा पाउन सक्छन्।

कुराकानी गर्दा बेलाबखत मर्न मन लागेको कुरा गर्नु, आाविहिन र सहयोग बिहिन महसुश गर्ने, एक्कासी खुशी हुने या धेरै दुखी हुने, आफैलाई हानी पुर्‍याउने व्यवहार गर्ने, मृत्यु बारेमा कुरा गर्ने, विषादी, हतियार, औषधी जस्ता माध्यमको खोजी गर्ने, परिवार इष्टमित्रलाई भेटविदाइ गर्ने, आफ्नो अन्तिम इच्छा लेख्ने, लागूपदार्थको अत्यधिक सेवन गर्ने, जस्ता आत्महत्या गर्न सजिलो हुने ठाउँहरु, आत्महत्या गर्ने तरिकाको खोजी गर्नु, त्यस्ता सामाग्री जुटाउँदै गर्नु जस्ता लक्षण देखाउँछन्।

यी मध्ये कुनै पनि लक्षण देखाएमा नजिकको व्यक्तिले समय दिएर कुृरा गर्ने, उनीहरुको कुरा सुनेपछि तुरुन्तै नेपालका बिभिन्न निकायले प्रदान गरेका हटलाइन सेवा मध्येमा कुनै एउटामा फोन गर्ने र घटनाको बारेमा जानकारी दिने, सकेसम्म छिटो अस्पताल पुर्‍याएर मानसिक रोगको उपचार गर्ने तथा परामर्श दिने जस्ता सहयोगले आत्महत्या गर्न खोजेका व्यक्तिलाई बचाउन सकिन्छ। 

नेपालमा विश्व स्वास्थ्य संगठनले शुक्रवार आत्महत्या रोक्नको लागि ११ ६६ नम्वरको हटलाइन सेवा प्रदान गरेको छ। चौविसै घण्टा सेवा प्रदान गर्ने यो हटलाइनमा कसैलाई मनमा गाह्रो  भइरहने, तनाव सामना गर्न गाह्रो भएमा र आफैलाई हानी वा दुःख दिन मन लागेमा हटलाइनमा फोन गर्न सकिन्छ ।

त्यसैगरी घरमा आत्महत्या गर्न सहज बनाउने सामाग्रीहरु, विषादी, डोरी जस्ता जोखिम कुरा यस्ता व्यक्तिको पहुँच बाहिर राख्ने, परिवारले हेरचाह पुर्‍याउने, मिडियाले कुनै प्रसिद्ध व्यक्तिले गरेको आत्महत्याको समाचारलाई पहिलो पृष्ठमा नराख्ने, र प्रक्रियाको विस्तृत नलेख्ने र समाचारमा झुडिएको तस्विर प्रकाशित नगर्ने, आत्महत्या सहज हुने स्थलहरुको बारेमा समाचारमा उल्लेख नगर्ने जस्ता सावधानी अपनाएर मिडियाले सहयोग गर्न सक्ने त्रिविवि शिक्षण अस्पतालमा मानसिक रोग विभाग प्रमुख डा. सरोज वझाले बताए । उल्लेखित निकाय वाहेक हरेक व्यक्ति, समाज र चिकित्सक मिलेर मात्र नेपालमा आत्महत्या रोकथाम गर्न सकिने उनीहरुले अपिल गरेका छन् । 

नेपालका १३ वटा अस्पतालमा १० शैय्याको मानसिक रोग अस्पताल खोलिने

नेपालमा बिभिन्न १३ वटा २ सय शैय्याका जिल्ला अस्पतालहरुमा १० शैय्याको मानसिक रोग वार्ड स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या सचिव रोश पोखरेलले यस्तो जानकारी दिएका हुन्। यो कार्यक्रमको लागि बिरामीलाई औषधी उपचारको लागि ५० लाख बजेट बिनियोजना भइसकेको पोखरेलले बताए।

प्रकाशित: २६ भाद्र २०७८ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App