४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

छत्रपाटी चिकित्सालयको नयाँ भवन शिलान्यास

क्षत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास गर्दै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलयागत । तस्बिर: नील सायमि/ नागरिक

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माण शिलान्यास गरिएको छ। बुधबार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नवीन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पूजन गरेका थिए।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना एक दाम जग्गामा करिब ३५ करोड रूपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो। कार्यक्रममा बोल्दै प्रमुख शाक्यले योजनाहरू समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने बताए। ‘महानगरले गएको वर्ष पनि अस्पताल भवनका लागि ५ करोड रूपैयाँ विनियोजन गरेको थियो। पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन। अर्कोतिर यस वर्ष लागत बढेर खर्च थपिएको छ,’ उनले भने ‘समयमा काम गर्नुहोस्, स्तरीय काम गर्नुहोस्, पैसाको चिन्ता नगुनुहोस्।’

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोभिडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरूसँग सहकार्य गरेको बताइन्। समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो। ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ। चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै वडा १७ का अध्यक्ष नवीन मानन्धरले समुदायलाई अप्ठ्यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला काठमाडौं महानगरले सहयोग गरेको बताए।

स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए। अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको प्रारूप तयार पारिनेछ। यसका लागि करीब १२ करोड रूपैयाँ खर्च हुनेछ। चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसियु, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन्। 

प्रकाशित: २५ भाद्र २०७८ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App