coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सिनेट बैठक: चार सय शैयाको अस्पतालका लागि पूर्वाधार तयार पार्ने

दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार सय शैयाको अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गरिने जनाएको छ। आगामी तीन वर्षभित्रमा चार सय शैयाको अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने काठमाडौँमा बसेको प्रतिष्ठानको चौथो सभा बैठकले निर्णय गरेको हो। 

आर्थिक वर्ष २०८१/०८२ भित्र चार सय शैयाको अस्पतालको पूर्वाधार तयार पार्ने निर्णय गरेको सभा बैठकले उच्च स्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गर्ने समेत निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।

चिकित्सा क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरि प्रतिष्ठानले तयार गरेको कार्ययोजनालाई स्वीकृत गर्ने निर्णय भएको थापाले जानकारी दिए। त्यस्तै प्रतिष्ठान ऐन, २०७४ को दफा ८(ख) को प्रावधान बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम, महालेखा परीक्षणको कार्यालयले पेश गरेको ५७ औं र ५८ औं प्रतिवेदन समेत पारित भएको छ। 

प्रतिष्ठानले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरु सेवा शर्त नियमावली, २०७८' लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरुको लोकसेवा आयोगसँग समन्वय गरी पदपूर्ति गर्दै जाने विषय समेत सहज भएको उनले जनाए।

त्यस अवसरमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रष्तिठानको बिकासका लागि सरकारले सहयोग गर्ने बताए। त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आवश्यक भौतिक पूर्वाधारको यथाशिघ्र विस्तार गरि शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा विस्तार गर्न आवश्यक बजेट ब्यवस्थाका लागि श्रोत सुनिश्चित गर्नका लागि निर्देशन दिए। 

सो अवसरमा प्रतिष्ठानले आफ्नो कार्यकालमा अस्पतालले गरेको कार्य प्रगति, शैक्षिक कार्यक्रमका लागि भएका प्रयास, प्रतिष्ठानको लागि आवश्यक जग्गा प्राप्तिको विषयसहित समस्याका बारेमा प्रधानमन्त्री देउवालाई प्रतिष्ठानकी उपकुलपती संगीता भण्डारीले जानकारी गराइन्। 

प्रकाशित: १९ भाद्र २०७८ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App