११ मंसिर २०७८ शनिबार
स्वास्थ्य

कोरानाले मनोसमस्या

दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेत रोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ।  

एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले उपचारका लागि कान्ति बाल अस्पताल पुर्‍याए। आत्महत्याको प्रयास गर्नुअघि ती बालिका इन्स्टाग्राम, टिकटक बढी समय गुजार्ने र सामाजिक सञ्जालमा आफूलाई हेर्न चाहने गर्थिन्। उपचारपछि उनी सामान्य अवस्थामा आइरहेको बाल मानसिक रोग विशेषज्ञ डा. अरूण कुँवरले बताए। यो वर्ष दैनिक १४ देखि २२ जनाले आत्महत्या प्रयास गरेको तथ्यांक छ।  

काठमाडौंकै १२ वर्षीय बालकले घरबाहिर निस्कन नमान्ने, कोरोना सर्छ भन्दै अविभावकलाई घरबाहिर निस्कन नदिने, घरीघरी हात धुनेजस्ता गतिविधि गरेपछि उपचारका लागि उनलाई पनि दुई साताअघि कान्ति बाल अस्पतालमा पुर्‍याइयो। उपचारपछि बालक पनि सामान्य हुँदै गइरहेको डा. कुँवरले बताए। गत वर्ष काभ्रेका १७ वर्षीय युवकले लकडाउनकै अवधिमा आत्महत्याको प्रयास गरेका थिए। घरबाट कामकै सिलसिलामा सिन्धुली पुगेका उनी लकडाउनमा उतै फसेपछि आफूलाई दिक्क मान्ने गरेको बताएका थिए। लकडाउन लम्बिँदै गएपछि उनले आत्महत्याको प्रयास गरेका थिए। गाउँलेको सहयोगमा उनको उद्धार भएको थियो।  

दोस्रो लकडाउन लामो बनेपछि दोलखाकी एक १७ वर्षीया किशोरीले पढाइ रोकिएको चिन्तामा आत्महत्या गर्ने सोच आएको थियो। उनमा असामान्य गतिविधि बढ्दै गएपछि अविभावकले मनोविद् कञ्चन रावतकहाँ पुर्‍याए। उनले बारम्बार पढाइ रोकिएर भविष्य अन्धकारमा गयो भन्ने चिन्ता मात्र पोख्ने गरेकी थिइन्। मानसिक रोगको उपचारपछि उनी सामान्य अवस्थामा फर्केको रावतले जानकारी दिइन्। 

डा. कुँवरका अनुसार यी दुवै बालबालिका कोभिड–१९ र निषेधाज्ञाले घरबाहिर निस्कन नपाउनु, घरबाहिरको खेलकुदमा सहभागी हुन नपाउनु र प्रत्यक्ष अन्तरसंवादबाट वञ्चित भएकाले उनीहरूमा विभिन्न खालका मनोसमस्या बढेको छ। उनीहरूमा डर लाग्ने, डिपे्रसन हुने, पढ्न मन नगर्ने, ग्याजेट बढी चलाउने, निद्रा नलाग्ने र अन्य खालका मनोसमस्या बढिरहेको छ। नेपालमा कोरोना संक्रमण फैलिएपछि बालबालिका तथा युवा उमेर समूहमा समेत मानसिक समस्या बढेको छ।

मनोविद् रावतले पहिलो र दोस्रो लकडाउनको अवधिमा बालबालिकामा देखिने मनोसमस्याको प्रकृति पनि फरक देखिएको बताइन्। विशेष गरी सहरभित्र दुईवटा मात्र कोठा लिएर बस्ने बालबालिकामा मनोसमस्या बढी छ। अन्य समयमा साथीहरूसँग सेयर गर्ने मनका कुराहरू जुन अविभावकसँग सेयर गर्दैनन्। 

मनको कुरा साट्ने साथीको अभावमा उनीहरूमा चिडचिडापन हुने, यसको प्रभाव अविभावकमा समेत पर्ने, लगातारको अनलाइन कक्षाका कारण उमेरअनुसारको विकास हुने बौद्धिक क्षमतामा ह्रासआउने, सिर्जनशील नबन्नेजस्ता समस्या पनि बढिरहेको देखिन्छ। मनोविद् रावत भन्छिन्, ‘प्रत्यक्ष अन्तर्क्रिया गरेर पढेजस्तो अनलाइनमा नहुँदा बालबालिकामा पढाइमा मिहिनत गर्ने बानीको समेत कमी भइरहेको देखिन्छ,’ उनले भनिन्। कतिपय बालबालिकाले लामो समयको लकडाउनका कारण गाँजा खाने र पब्जी खेल्ने लतमा परेको पाइएको छ।

कान्ति बाल अस्पतालको प्रतिवेदनअनुसार सन् २०१५ को ६ महिनाभित्र ६ सय ७० बालबालिका मनोसामाजिक समस्याका बिरामी रहेकोमा सन् २०२० मा ४४ सय पुगेका थिए। कोरोना महामारीपछि युवा तथा बालबालिकामा आत्महत्याको दर पनि वृद्धि भएको तथ्यांक छ। गत वर्ष नेपालमा भएको अध्ययनअनुसार १४ देखि २१ वर्षभित्रका दैनिक ५ सयजनाले आत्महत्याको प्रयास गरेकोमा २ सय ८० जना त बालबालिका मात्र थिए। चिकित्सकका अनुसार यस्तो मानसिक समस्या सहरमा बस्ने, सामान्यदेखि शिक्षित तथा सक्षम परिवारका बालबालिकामा समेत बढेको छ। 

प्रकाशित: १९ भाद्र २०७८ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App