काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै विद्यालयले चाहेमा विद्यार्थीको भौतिक उपस्थितिमै खोल्नसक्ने निर्णय भएको छ।
बुधबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुखको बैठकले लामो सयमदेखिको लकडाउनका कारण समुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गतिविधि रोकिन गई शिक्षण सिकाइमा नकारात्मक असर परिरहेकोले खोप लगाएको समुदाय वा क्षेत्र निश्चित भएमा विद्यालय खोल्नसक्ने निर्णय गरिएको काठमाडौं जिल्ला प्रमुख कालीप्रसाद पराजुलीले बताए।
उनले काठमाडौंका दुर्गम क्षेत्रका विद्यालयमा नेटको पहुँच नभएको कारण गत वर्षदेखि नै विद्यालयमा शैक्षिक गतिविधि अघि बढ्न नसकेको जनाए। यही कारण विद्यार्थीमा सिकाइ कमजोर बन्दै गएको विश्लेषणसमेत गरिएकोले त्यस्ता क्षेत्रका विद्यायलाई प्राथमिकताका साथ खोल्न दिने निर्णय गरिएको उनले बताए। उनले हाल गोकर्णेश्वर नगरपालिकामा सबैले खोप लगाएर स्थानीय तहको सहमतिमै विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन भइरहेको बताए।
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार शैक्षिक संस्था विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपापाउने भनेको छ। गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रवधानभित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्नसक्ने अधिकार पनि दिएको छ।
‘दक्षिणकाली, नाम्लेभारे, शंकरापुरलगायतका दुर्गमका नगरपालिकामा इन्टरनेटको पहुँच नै छैन। विद्यालयमा शैक्षिक गतिविधि गत वर्षदेखि नै अघि बढ्न सेकेको छैन,’ काठमाडौं जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘यी नगरपालिकाले सिडिओ कार्यालयमा अभिभावक, शिक्षक तथा समुदायले नै कोरोनाविरुद्धको खोप लगाइसकेको र विद्यार्थीलाई मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गरी विद्यालय खोलेर भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्नसक्ने निवेदन नै दिनुभएको छ। विद्यालयले खोप लगाएको र स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालन गर्नसक्ने निर्णय गर्ने अधिकार दिइएको छ। ’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ मसान्तसम्म लागु हुनेगरी निषेधाज्ञा जारी रहेको जनाउँदै सो अवधिमा विद्यालयसमेत सञ्चालन गर्न सकिने उनले बताए।
‘केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत स्मार्ट लकडाउनमा विद्यालय खोल्नसक्ने विषयमा सिसिएमसीलाई छ बुँदे कार्य योजना बुझाएको छ,’ काठमाडौं जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने, ‘सोही कार्ययोजनामा आधारित रहेर विद्यालयहरू भौतिक उपस्थितिमै खोल्न सक्नेछन्,’ उनले थपे, ‘हाल कोरोना संक्रमणविरुद्धको खोप पनि सबैले लिइरहनुभएको छ। संक्रमण पनि घट्ने क्रममा छ। त्यही भएर स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अपनाएर विद्यालय खोल्न समस्या पर्दैन। ’
कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको सूचनामा प्रकाशित गरेको हो।
अर्कोतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड महामारीको अवस्थामा हुनसक्ने निषेधाज्ञाको प्रकृति अनुरूप सिसिएमसीलाई बुझाएको ६ बुँदे क्रियाकलापको कार्य योजनामा चारवटा क्षेत्र तोकिएको छ। स्मार्ट निषेधाज्ञामा पूर्ण निषेधाज्ञा (रातो), मिश्रित निषेधाज्ञा (गाढा पहेलो), आंशिक निषेधाज्ञा ( पहेंलो ) र समान्य निषेधाज्ञा हरियो गरी चार क्षेत्रमा वर्गीकरण गरेको छ।
काठमाडौं जिल्ला प्रमुख रिजालका अनुसार सरकारले सबै मन्त्रालयहरूलाई स्मार्ट लकडाउनको कार्य योजना तयार गर्न निर्देशन दिएको थियो। ‘यही निर्देशनअनुसार शिक्षा मन्त्रालयले पनि स्मार्ट लकडाउन अनुसार शैक्षिक गतिविधिअघि बढाउनेबारे कार्ययोजना तयार पारी सिसिएमसीमा पठाएको छ। यस विषयमा सिसिएमसीमा छलफल पनि भइरहेको छ,’ उनले भने, ‘मन्त्रालयले बुझाएको क्षेत्रगत र पठनपाठनदेखि परीक्षा सञ्चालनसम्मको स्पष्ट व्यवस्था गरिएको छ। ’
मन्त्रालयले बुझाएको कार्ययोजना अनुसार रातो क्षेत्रमा अर्थात पूर्ण निषेधाज्ञा भएको क्षेत्रमा वैकल्पिक सिकाइ सहजीकरण योजना तयार पार्ने, प्रधानाध्यापको नेतृत्वमा कम्तीमा एकतिहाइ शिक्षक आलोपालो उपस्थित रही स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यार्थीको समूहअनुसार सिकाइ सहजीकरण योजना तयार पार्ने र विद्यार्थीलाई क्लोज गुप्र युनिटमा आवद्ध गरी सिकाइ सहज बनाउनु पर्नेछ।
गाढा पहेंलो अर्थात् मिश्रित निषेधाज्ञा भएको क्षेत्रमा सूचना र प्रविधिको पहुँचको आधारमा विद्यार्थीको सिकाइ सहजीकरण गर्नुपर्ने हुन्छ। प्रअको नेतृत्वमा ५० प्रतिशत शिक्षक आलोपालो विद्यायमा उपस्थित भई स्वास्थ्य सुरक्षाको मापदन्ड तथा भौतिक दूरी कायम गरी विद्यार्थीको समूहअनुसार सिकाइ सहजीकरणको योजना तयार पार्नु पर्नेछ। साथै विद्यार्थीलाई क्लोज गु्रप युनिटमा आवद्ध गरी नियमित टेलिफोन वा अनलाइनलगायतका उपयुक्त विधि प्रयोग गरी सिकाइ सहज बनाउनु पर्नेछ।
आंशिक अर्थात् पहेंलो निषेधाज्ञा भएको क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई थप सिकाइ सामग्री तथा प्रत्येक हप्ताका लागि विद्यार्थी क्रियाकलाप र गृहकार्य तयार गर्ने। निरन्तर मूल्यांकन गर्ने, मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ अनुसारका मापदण्ड पूरा गरी कुल विद्यार्थी संख्याको एकतिहाइलाई आलोपालो वा सिफ्टमा उपस्थित गराई पठनपाठन गराउनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी, समान्य वा हरियो क्षेत्रको निषेधाज्ञा भएको भए मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा ०७७ अनुसार मापदण्डमा रहेर सञ्चालन गर्नुपर्ने व्यवस्था छ।
उच्च शिक्षाको हकमा पूर्ण र मिश्रित निषेधाज्ञा भएको क्षेत्रमा शिक्षण संस्थाले भर्चुअल माध्यमबाट पठनपाठन गराउने र सम्बन्धित विश्वविद्यालयलाई विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्नेछ भने आंशिक र समान्य निषेधाज्ञा भएको क्षेत्रमा शिक्षण संस्थाले विद्यार्थीलाई छुटाछुटै समयमा सानासाना समूहमा बाँडेर आलोपालो कक्षा सञ्चालन गर्नुपर्ने कार्ययोजनामा व्यवस्था गरिएको छ।
यसैगरी, काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको भदौ मसान्तसम्मको खुकुलो निषेधाज्ञा अनुसार अनावश्यक रूपमा मानिस जम्मा हुने, भिडभाड गर्ने, सभा/जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने÷नगराउने, यस अवधिमा पर्ने चाड पर्वमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रूपमा मात्र मनाउन पाउने व्यवस्था गरेको छ।
प्रकाशित: १७ भाद्र २०७८ ०२:४८ बिहीबार