५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

ताप्लेजुङमा भदौ १६ बाट खोप दिइने

ताप्लेजुङका भदौ १६ गते कोभिशिल्डको दोस्रो मात्राको खोप दिइने भएको छ। जिल्ला खोप अनुगमन तथा समन्वय समितिको आइतबारको बैठकले कोभिडशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेका १२ हजार ३२ जनालाई दोस्रो मात्रा लगाउने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष उमेश पाण्डेका अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई भुटान र जापान सरकारको कोभ्याक्स सुविधामार्फत् अनुदानमा प्राप्त एक्सट्राजेनेकाको खोप लगाइने छ।

फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई, त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत् भदौ १६, १७ र १८ गते यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एक्सट्राजेनेकाको खोप दिइने छ। यस्तै फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजंगा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा भदौ १८, १९ र २० गते एक्सट्राजेनेकाको खोप दिइने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

यस्तै साउनको दोस्रो साता भेरोसिल बिरुद्धको पहिलो खोप लगाएकाहरुलाई भदौ १९ देखि २२ गते भित्रमा दोस्रो मात्रा उपलब्ध गराइने भएको छ। यसअन्तर्गत भदौ १९ र २० गते फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत् भेरोसिल खोपको दोस्रो मात्रा दिइने छ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, सिरिजंगा गाउँपालिका, मेरिङ्देन गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा भदौ २१ र २२ गते भेरोसिल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०७८ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App