८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जिपीमा मझौला शल्यक्रिया सुरु

बुधबार जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार च्यातिएको विरामीको शल्यक्रिया गरिदै। तस्बिर सौजन्य: अस्पताल प्रशासन

तनहुँको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले मझौला शल्यक्रिया सुरु गरेको छ। शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको अस्पतालले बुधबार पहिलो पटक मलद्धार च्यातिएको सफल शल्यक्रिया गर्दै मझौला शल्यक्रियाको सुरुवात गरेको हो।  

एनेस्थेसियोलोजिस्ट डा. रमेश घिमिरे र सर्जन डा. परिवर्तन बराल नेतृत्वको टोलीले ६७ वर्षीया महिलाको मलद्वार च्यातिएको सफल शल्यक्रिया गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए। एक घण्टा समय लगाएर उक्त शल्यक्रिया गरिएको थियो।

बुधबार नै हार्डजोर्नीको पनि शल्यक्रिया गरिएको श्रेष्ठले जानकारी दिए। अर्थोपेडिक सर्जन डा. विद्याभुषण ताम्राकार नेतृत्वको टोलीले ५० वर्षीया महिलाको हाडजोर्नीको सफल शल्यक्रिया भएको उनले बताए। लडेर हात भाच्चिएकी उनको शल्यक्रिया गरिएको हो।  

साना शल्यक्रिया मात्र  गर्दै आईरहेको अस्पतालले अब मझौला शल्यक्रियालाई निरन्तरता दिने श्रेष्ठले बताए। ‘शल्यक्रिया सेवा सुरु गर्ने तयारी पहिलेदेखी नै गरेका थियौँ। कोरोनाका कारण ढिलाई भयो। ठुला शल्यक्रिया पनि छिट्टै सुरु गर्दैछौँ’, डा.श्रेष्ठले भने, ‘ठुला शल्यक्रिया सुरु गर्नलाई पुर्वाधार तयार हुँदैछ।’

मझौला शल्यक्रियाका सेवा सुरु भएपछि तनहुँ, स्याङजा, पाल्पा, नवलपुरका विभिन्न भेगका बिरामी अन्यन्त्रको अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको छ। अस्पतालले १० बेडको आइसीयु र २५ बेडको एचडीयु कक्ष सञ्चालनको तयारी समेत गरीरहेको छ।

७० बेड क्षमतामा सञ्चालित अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ३० बेड क्षमताको छुट्टै आईसोलेशन कक्ष छ। जिल्लाका १० वटै स्थानीय तहले संयुक्त लगानीमा निर्माण गरेको आईसोलेसन भवनमा अक्सिजन सहितको सेवा प्रदान भईरहेको छ।  

एक सय बेडको अनुमती भएको संघीय सरकार मातहातको यो अस्पतालले भवन अभावमा पुरै क्षमतामा सञ्चालन हुन सकेको छैन्। श्वासप्रश्वास उपचारको विशेष अस्पताल बनाउने भनिएपनि यहाँ श्वासप्रश्वास सम्बन्धी रोगको उपचार सेवा पनि सुरु भएको छैन्। दैनिक एक सय ५० जना अस्पतालमा सेवा लिन आउने गरेका छन्।  तीमध्ये एक सय जना बढी स्वास्थ्य विमा गरेका विरामी हुन्छन्।  

प्रकाशित: १० भाद्र २०७८ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App