५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

बागलुङमा निषेधाज्ञामा कडाई, संक्रमित तीव्ररुपमा थपिएपछि नयाँ भेरियन्टको आशंका

निषेधाज्ञामा कडाईपछिको सुनसान बागलुङ बजार। तस्बिर:संगम/बागलुङ

कोरोना भाईरसको संक्रमण तीव्रगतिमा फैलिएपछि बागलुङमा आज बिहीबारदेखि पुनःनिषेधाज्ञामा कडाई गरिएको छ। जिल्ला प्रशासन कार्यालय बागलुङले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र बन्द रहनेगरी निषेधाज्ञामा कडाई गरेको हो। आज बिहान ५ बजेबाट लागु गरिएको निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म जारी रहेनेछ। मुख्यतः बागलुङ नगरपालिका क्षेत्रभित्र कोरोना भाईरसको संक्रमण तिब्र गतिमा फैलिएपछि नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारीस गरेको थियो।

त्यही सिफारिसको आधारमा केन्द्रको मंगलबार बसेको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी भदौ ५ गते रातीसम्मका लागि निषेधाज्ञामा कडाई गर्ने निर्णय गरेको हो। बागलुङ नगरपालिकाले सिफारीस गरे पनि जिल्लाको अन्य क्षेत्रमा पनि कोरोनाको संक्रमण तीव्र देखिएकाले जिल्लाभर निषेधाज्ञामा कडाई गर्ने निर्णय भएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए। निषेधाज्ञाको समयमा अत्यावश्यक सामग्रीका पसलहरुलाई निश्चीत समय निर्धारण गरिएको छ भने अन्य क्षेत्र पूर्ण रुपमा बन्द रहनेछन्। विगतमा निषेधाज्ञाको समयमा समेत सञ्चालन रहेका बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु पनि यस पटक बन्द गरिएको छ।

शैक्षिक संस्था, सार्वजनिक र निजी सबै खाले सवारी साधन बन्द गरिएको छ। अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउनेछन्। खाद्यान्न लिन बागलुङ बजार झरेको सवारी साधनले बिहान ११ बजेभित्रै बागलुङ बजार छोडिसक्नुपर्नेछ। अन्य सबै क्षेत्र बन्द हुँदा पन लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयको परीक्षा भने आवश्यक समन्वय गरेर सञ्चालन गर्ने भनिएको छ। अहिले बागलुङमा साढे ६ सय बढि सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए।

नयाँ नयाँ लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या तीव्ररुपमा बढ्न थालेपछि निषेधाज्ञा गर्नु परेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। ‘अहिले कोरोना संक्रमणको लक्षण फरक फरक देखिएको छ, त्यसले गर्दा नयाँ भेरियन्ट हो कि भन्ने आशंका पनि छ,’ खनालले भने,‘फैलिन पनि एकदमै तिब्र रुपमा फैलिएको छ। एक जनलाई देखियो भने आसपासका ७/८ जनालाई सरेको देखिन्छ। त्यसले गर्दा पनि चेन ब्रेक गर्न निषेधाज्ञा गर्नु परेको हो।’  

बिहीबार बिहानबाट लागु भएको निषेधाज्ञामा प्रहरी निकै कडाई गरेको छ। तरकारी तथा किराना पसलसंगै रहेका पसलहरुमा तरकारी मात्रै बाहिर राखेर किराना सामान नदेखाउन भनेको व्यवसायी धनबहादुर कार्कीले बताए। तरकारी किरानासंगै रहेका व्यवसायीले वरण्डामा तरकारी राखेर किराना पसलमा सटर लगाएर बसेका छन्।

प्रकाशित: २८ श्रावण २०७८ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App