१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सक्रिय उमेर समूहकै बढी संक्रमित, कारण लापरबाही

कोरोना भाइरसका कारण संक्रमित हुनेहरुमा सक्रिय उमेर समूहकै व्यक्तिहरु बढी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ९०४ जना कोरोना संक्रमितमध्ये सक्रिय उमेर समूहकै व्यक्तिहरु बढी संक्रमित भइरहेको जनाएको हो।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २१ वर्षदेखि ३० वर्ष उमेर समूहका र ३१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिहरु बढी संक्रमित भएको जनाएको छ। तथ्यांक अनुसार मंगलबार मात्र २१ देखि ३० वर्ष उमेर समूहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समूहका ७२८ जना संक्रमित भएका छन्।

त्यस्तै ४१ देखि ५० वर्ष उमेर समूहका ५१७, ५१ देखि ६० वर्ष उमेर समूहका ४१० जना संक्रमित भएका छन्।

मंगलबार मात्र नभएर सोमबारको तथ्यांकले पनि सक्रिय उमेर समूहकै व्यक्तिहरुमा बढी संक्रमण भएको थियो। मन्त्रालयका अनुसार सोमबार २१ देखि ३० वर्ष उमेर समूहका ६४८, ३१ देखि ४० उमेर समूहका ६१२ र ४१ देखि ५० वर्ष उमेर समूहका ३८६ जना संक्रमित भएका थिए। मन्त्रालयको पछिल्लो तीन दिन यताको तथ्यांकले कोरोना भाइरसले सक्रिय समूहकै व्यक्तिहरुलाई संक्रमण गरिरहेको छ।  

आइतबार २१ देखि ३० वर्ष उमेर समूहका ५०९, ३१ देखि ४० वर्ष उमेर समूहका ५०२ र ४१ देखि ५० वर्ष उमेर समूहका ३३७ जना संक्रमित भएका थिए।

सक्रिय उमेर समूहका व्यक्तिहरुमा बढी संक्रमण हुनुमा तिनीहरुको आनीबानी रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्यविज्ञहरुको तर्क छ। सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले सक्रिय उमेर समूहका व्यक्तिहरुमा संक्रमण हुनुलाई स्वभाविक भएको बताए।  

उनले भने, ‘समाजका बढी सक्रिय जनसंख्या नै उनीहरु हुन्, उनीहरुको संख्या स्वभाविक रुपले बढ्छ, त्यतिमात्र हैन, त्यो समूह नै कामकाजका लागि निस्कन्छन्, उनीहरु नै साथीभाइ भेट्छन्, उनीहरु नै बढी चलायमान् हुन्छन्।’

उनले त्यस अलावा सरकारकै लापरबाहीको कारण युवा उमेरका व्यक्तिहरु संक्रमणको चपेटामा परेको जनाए। उनले सरकार परिवर्तनसँगै, सरकारका केही विषयमा गडबड हुने बित्तिक्कै निकालिएको जुलुस, कार्यक्रमले पनि त्यो संख्या बढेको बताए।

‘सरकार आफै अनुशासनमा छैन, त्यसको प्रभाव स्वभाविक रुपमा नागरिकमा पर्छ, युवामा पर्छ, राजनीतिक दलले निकालेको जुलुस हेर्दा कोरोना सकियो भन्ने भान जोकोहीलाई पर्छ, त्यसको सीधा असर दैनिक काम गर्नुपर्ने वर्गमा पर्छ,’ उनले भने।  

उनले सक्रिय संक्रमणसँगै मृत्युदरको अवस्थाबारे ख्याल गर्नुपर्नेमा जोड दिए। उनले आफू अनुशासित हुने, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफ्नो दैनिकी चलाउनु नै अहिलेको राम्रो उपाय हुने समेत सुझाए।

‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन,’ उनले भने।

प्रकाशित: २६ श्रावण २०७८ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App