९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

भदौको पहिलो सातादेखि आगामी मंसिरसम्ममा नेपालमा नयाँ कोरोना संक्रमित हुने संख्या १ लाख ९३ हजार हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ। बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।  

साउनदेखि मंसिर महिनाभित्र नेपालमा संक्रमित हुने १ लाख ९३ हजार जनामध्येमा ९ हजार ६ सय ९३ जनालाई आइसियु सुविधा चाहिनेछ। त्यसैगरी संक्रमितमध्येमा ३८ हजार ७ सय ७१ जनालाई कोभिड शैड्ढया तथा अक्सिजन आवश्यक पर्नेछ। प्रक्षेपणअनुसार साउनमा ५३ हजार ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ९ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १ सय ८३ जना संक्रमित हुनेछन्। यो अवधिमा कति जनाको मृत्यु हुन्छ भन्ने विषयमा प्रक्षेपण नगरेको प्रवक्ता पौडेलले बताए। ‘यसअघिका लहरमा पनि मृत्युको प्रक्षेपण भएको थिएन, अहिले पनि भएको छैन,’ उनले भने। संक्रमण अवधिमा कुन भेरियन्ट म्युटेन्ट भएर आउँछ र त्यसको असर कस्तो रहन्छ भन्ने कुरा पहिल्यै भन्न नसकिने भएकोले प्रक्षेपण नभएको पौडेलको भनाइ छ।

प्रवक्ता पौडेलका अनुसार अहिलेको संक्रमण दर, खोपलगायका व्यक्तिहरू, नेपालमा खोपको उपलब्धता, कोरोना संक्रमित भइसकेका मानिसहरू, असोज महिनाभित्र आइपुग्ने २ करोड खोपको उपलब्धता र १ करोड जनाले दुई डोज खोप लगाइसक्ने अवस्थाको आधारमा पाँच महिनाको संक्रमण हुने संख्या प्रक्षेपण गरिएको हो। आगामी असोजसम्ममा नेपालमा कुल जनसंख्याको एकतिहाइ जनसंख्याले कोभिड १९ विरुद्धको दोस्रो डोजको मात्र लगाइसकेका हुनेछन्।  

कोरोनाबाट थप ३७ जनाको मृत्यु  

गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ। तीमध्ये दोस्रो लहरको अवधिमा ६ हजार ६ सय ५२ जनाको मृत्यु भइसकेको छ। बिहीबार अघिल्लो दिनको तुलनामा थप २ जनाको बढी मृत्यु भएको हो। बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जना थिए। दुई साताअघिसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या औसत १७ देखि २० थियो।  

गत चौविस घण्टामा नेपालमा नयाँ संक्रमित संख्या ३ हजार ९ सय ३८ छ। परिक्षण भएका १८ हजार ४ सय ८ जनामध्ये ३ हजार ९ सय ३८ जना संक्रमित भएका हुन्। यो हिसाबले गत चौविस घण्टामा एन्टिजेन र पिसिआर गरी २१.३ प्रतिशत संक्रमित छन् भने पिसिआर नमुनामध्येमा २५ प्रतिशत संक्रमित भएका हुन्। थपसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ७३ हजार ८ सय ६० पुगेको छ। गत चौबिस घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित: २२ श्रावण २०७८ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App