coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोनाविरुद्ध जनचेतना जगाउन सडकमा सिडिओ

मास्क नलगाए सय रुपैयाँ जरिवाना

मंगलगढी चोकमा जुत्ता सिलाउनेलाई मास्क वितरण गर्दै प्रमुख जिल्ला अधिकारी छवी रिजाल। तस्बिर: नगेन्द्र/नागरिक

प्रदेश राजधानी सुर्खेतमा कोरोना संक्रमण दर बढ्न थालेपछि स्थानीय प्रशासनले जनचेनतामूलक कार्यक्रमलाई तीव्रता दिन थालेको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजाल आफै सडकमा निस्किएर जनचेतना फैलाउँदै मास्क वितरण गरिरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या २५४ छ। कर्णाली प्रदेश अस्पतालमा २० संक्रमितहरु उपचाररत छन्।  

‘तेस्रो लहरको कोरोना संक्रमण बढ्न थालेपछि माइकिङ गर्ने, कोरोना रोकथामका लागि पोष्टर–पम्पलेट वितरण गर्ने, जनचेतनाका लागि माक्स वितरण गर्नेलगायतका कामहरु गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अव जनचेतनासँगै दण्डात्मक कार्यलाई पनि सँगसँगै लिएर जान्छौं।’

प्रजिअ रिजालका अनुसार कोरोना संक्रमणको जोखिमका बारेमा जानकार हुँदा पनि स्थानीयहरु आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्। ‘मास्क विक्री गर्ने पसलेले पनि मास्क नलगाएर बसेको पाएका छौं,’ उनले भने, ‘अब त्यस्तो पाइए ठाउँको ठाउँ एक सय रुपैयाँ जरिवाना गछौं।’  

प्रजिअ रिजालको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सुर्खेत उद्योग वाणिज्य संघ, विभिन्न सामाजिक संघ–संस्थाहरु दिनहुँ प्लेकार्डसहित बजार परिक्रमा गरिरहेका छन्। सडकमा हिँड्ने बटुवा, सवारी चालक, पसलका सञ्चालकहरुलाई माक्स लगाउँदाका फाइदा, कोरोनाबाट हुने जोखिमका बारेमा जानकारी दिनुका साथै निःशुल्क मास्क वितरण गर्छन्। 

प्रजिअ रिजालले सक्रिय संक्रमितहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरे। ‘पहिलो र दोस्रो लहरमा भारतबाट आउने नागरिकहरुबाट जोखिम थियो, अहिले गाउँ–घरमै कोरोना छ,’ उनले भने, ‘आफु पनि बच्न र अरुलाई पनि बचाउन नियमित मास्क लगाउन, दूरी कायम गर्न र पसलमा स्वास्थ्यका मापदण्ड लागू गर्न सबैलाई आग्रह गरेका छौं।’  

बुधबारदेखि बढी भीड हुने क्षेत्रहरुमा माइकिङका साथै जनचेतनामूलक कार्यक्रम गरिने छ भने यसअघि जनचेतनामूलक कार्यक्रम गरिसकेका स्थानमा माक्स नलगाएकाहरुलाई कारवाही गरिने उनले बताए। ‘पहिलो पटकका लागि मास्क नलगाएको देख्दा वित्तिकै १०० रुपैयाँ जरिवाना गछौं,’ उनले भने, ‘फेरि पनि त्यहीँ गल्ती दोहोर्‍याएमा संक्रामक रोक ऐन अनुसार थप कारबाही गछौं।’

स्थानीय प्रशासनले सुर्खेतमा आंशिक लकडाउनलाई निरन्तरता दिइराखेको छ। संक्रमण दर बढ्दै गए पूर्ण लगडाउन गर्नुपर्ने अवस्था आउने उनले बताए। बसपार्क, मंगलगढी चोक, टेम्पोपार्कलगायतका धेरै भीड हुने स्थानमा एन्टीजेन परीक्षण पनि सुरु गर्ने तयारी भइरहेको छ। वीरेन्द्रनगर नगरपालिकाले भीडभाड हुने क्षेत्रमा परीक्षणको व्यवस्था मिलाउने छ।

बटुवालाई मास्क वितरण गर्दै सिडिओ।

 

प्रकाशित: २० श्रावण २०७८ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App