coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

कोरोना भाइरस संक्रमणको दर बढेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाइएको छ। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले साउन २७ सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि साविकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी गराएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुँदैछ,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘यसलाई मध्यनजर गर्दै साबिकको आदेशबमोजिम निषेधाज्ञाको अवधि थप गरिएको हो।’ पछिल्लोपटक थपिएको निषेधाज्ञा अवधि बुधबार राति १२ बजेसम्म सकिँदैछ।

बिहीबारदेखि जारी हुने थप एक साताको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, चिडियाखाना र रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न/गराउन पाइने छैन। त्यस्तै खुला स्थानमा मानिसहरूको भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्सव र भोज भतेरलगायत गर्न/गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैन। स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ। यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो। मापदण्ड उल्लंग्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष थियो।

औषधी तथा स्वास्थ्य सामग्री पसल जुनसुकै समयमा निर्वाध रूपमा सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसायहरू बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ। पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रूपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेछ। तोकेबमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा पाइएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिनेछ। अत्यावश्यक वस्तुहरूको अनलाइन अर्डर, रेष्टुरेन्ट एंव फास्टफुट तथा अन्य अर्डरहरू टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

सर्वसाधारणको आवतजावतको हकमा घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक कायम राख्ने, अनिवार्य रूपले मास्कको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ। सवारी साधन सञ्चालनको हकमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरू स्वीकृत सिट क्षमताअनुसार बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले मास्क, भाइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्नेछ। 

सफा टेम्पो तथा निलो माइक्रोले पछाडी तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा एक जना गरी कुल ९ जना यात्रुभन्दा बढी राख्न पाइनेछैन। सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउने पर्नेछ। उपत्यकाभित्र सञ्चालन हुने निजी सवारीसाधनका हकमा स्वास्थ्य मापदण्डको अनिवार्य रूपमा पालना गरी सञ्चालन गर्नुपर्नेछ। यसअघिको आदेशानुसार लामो दूरीका सवारीसाधन मापदण्ड पालना गरेर चलाउन पाइने छ। सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिसहरू भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्न सकिनेछ। परीक्षार्थीहरू हलमा प्रवेश गर्नुअघि र परीक्षापछि नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनु पर्नेछ। एउटा सिफका सबै परीक्षार्थीहरू परीक्षास्थलबाट पूर्णरूपमा बाहिरिएपछि मात्र अर्को सिफसँग सम्बन्धित परीक्षार्थीहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राख्नुपर्नेछ। परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरूका अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुपर्नेछ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ। स्वास्थ्यको मापदण्ड पूर्णपालना गर्न पनि अनुरोध गरिएको छ। त्यसका लागि सुरक्षा निकायबाट अनुगमन गरिने र अनुगमनका क्रममा अवज्ञा गरेको पाइएमा कोभिड–१९ सङकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: २० श्रावण २०७८ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App