६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन्। उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तर्क्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए। 

“निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन। जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने,“यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ।” नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ। सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो। सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए।

जनस्वास्थ्यविद् डा राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहने भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए। यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए। उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे। उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए।

अर्का जनस्वास्थ्यविद् डा सुन्तरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए। उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ। अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो। तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ। 

प्रकाशित: १२ श्रावण २०७८ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App