coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

खोप प्रमाणीकरणका लागि तोकिए चार अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो।  

मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत्र लिएर मात्र जान सुझाएको छ। यस्तो पत्रको कुनै शुल्कसमेत नलाग्ने मन्त्रालयले स्पष्ट पारेको छ। लगातार दुई दिन प्रमणीकरण पत्र लिनेको भिड लागेपछि शुक्रराज सरुवा रोग अस्पतालले शुक्रवार थप काउन्टर नै बढाएर सेवा दिएको जनाएको छ। भिड बढेपछि ४८ घन्टाभित्र उडान निश्चित भएकाका लागि मात्र छिटो प्रमाणीकरण पत्र दिने व्यवस्थासमेत गरिसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए।  

संक्रमण दर १७ प्रतिशत  

शुक्रबार नेपालमा कोरोना संक्रमण दर १७ प्रतिशत रहेको छ। यो अघिल्ला तीन दिनको तुलनामा यो दर ३ देखि ४ प्रतिशत कम हो। शुक्रबार परीक्षण भएका १७ हजार ३ सय ८ वटा नमुनामध्ये २ हजार ९ सय ७७ जनामा कोरोना पुष्टि भएको छ। थपिएकासहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ। तीमध्येमा दोस्रो लहरको अवधिमा ४ लाख ६७ हजार ५ सय ५० जना संक्रमित भएका हुन्। गत २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ९ लाख ६ हजार ७९ जना पुगेका छन्। तीमध्येमा ६ हजार ४ सय ८ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।  

संक्रमितमध्ये २४ हजार ९ सय ८३ जना होम आइसोलेसनमा छन् भने २६ सय ७८ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर लक्षण भएका ६ सय ८२ जनाको आइसियुमा र १ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: ९ श्रावण २०७८ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App